सौन्दर्यको सयपत्री

नेपाली माटो र संस्कृतिको अभिन्न अङ्ग सयपत्री फूललाई केन्द्रमा राखेर आज म ‘सौन्दर्यको सयपत्री’ मा समर्पित भइरहेको छु। यो मेरो समर्पण आत्मलापको बहाना होइन, न त शब्दको खेलाँची खेल नै हो। यो त मनको उन्मुक्त उडान र भावनाको सरल तर स्वीकार्य सत्यको उद्बोधन हो भन्ने मेरो निष्कर्ष छ।

प्रकृतिको क्यानभासमा जब शरदको सुनौलो रङ्ग पोखिन्छ, तब मेरो आँगनमा एउटा सौन्दर्यको उत्सव सुरु हुन्छ। त्यो उत्सवको मुख्य पात्र हो– सयपत्री। थुँगा–थुँगामा पत्रैपत्र मिलेर बनेको यो फूल एउटा वनस्पति मात्र होइन; यो त मेरो गाउँको मुस्कान, संस्कृतिको सुगन्ध र बाल्यकालको जीवन्त स्मृति हो।

झिसमिसे बिहानीका शीतका थोपाहरू जब सयपत्रीका थुँगामा बस्छन्, लाग्छ ती फूलहरू मोतीका गहना लगाएर सूर्यलाई स्वागत गरिरहेका छन्। कतै गाढा सुन्तली, कतै पहेँलो त कतै कञ्चन स्वर्ण रङ्गमा ढकमक्क फुलेका सयपत्री देख्दा धर्तीले स्वर्ण आभाको ओढ्ने ओढेकी भान हुन्छ। सयपत्रीको सौन्दर्य गुलाफको जस्तो अहङ्कारी छैन, न त यो कमलझैँ पहुँचभन्दा टाढा छ। यो त आफ्नै आँगनको डिलमा, मकैबारीको कान्लामा र घरको मूल ढोकाको पिँढीमा विनम्रतापूर्वक फुलेको हुन्छ।

पत्रैपत्रमा लुकेको जीवनको दर्शन प्रकृतिप्रदत्त स्वभाव हो। म जब सयपत्रीको एउटा थुँगालाई हातमा लिन्छु, यसको संरचनाले मलाई जीवनको एउटा शाश्वत सत्य सिकाउँछ। ‘सयपत्री’ अर्थात् सयौँ पत्रहरूको एउटै सङ्गम। यसका प्रत्येक पत्रहरू एकअर्कासँग यसरी जेलिएका हुन्छन् कि ती अलग हुँदा थुँगाको अस्तित्व नै समाप्त हुन्छ। यो हाम्रो समाजको प्रतीक हो– जहाँ अनेकतामा एकता छ। प्रत्येक पत्रको आफ्नै महत्त्व छ, तर ती सबै मिलेर मात्र एउटा पूर्ण ‘सौन्दर्य’ निर्माण भएको छ।

सयपत्रीको सुगन्ध अन्य फूलहरूको जस्तो तीव्र वा मादक हुँदैन। यसको बास्ना त माटोको सुगन्ध जस्तै सौम्य र घरेलु हुन्छ। तिहारको बेला जब दिदीबहिनीका कलिला हातहरूले सयपत्रीका माला उन्छन्, तब ती मालामा फूलका थुँगा मात्र हुँदैनन्, दाजुभाइप्रतिको अगाध स्नेह र आशीर्वाद पनि गाँसिएको हुन्छ। निधारमा सप्तरङ्गी टीका र गलामा सयपत्रीको माला लगाउँदा महसुस हुन्छ– यो फूलले त मानिसको सम्बन्धलाई कहिल्यै नओइलाउने गरी कसिदिएको छ।

आजको आधुनिक र कृत्रिम दुनियाँमा प्लास्टिकका फूलहरूले बजार भरिएका होलान्, तर ती निर्जीव वस्तुमा मेरो सयपत्रीको जस्तो प्राण र पवित्रता कहाँ? सयपत्री केवल एउटा फूल होइन, यो त नेपालीपनको एउटा रङ्गीन र सुगन्धित पहिचान हो। यो सधैँ सकारात्मक भावना, ऊर्जाशील मन र उत्साहका जाँगरिला पाइलाहरू चाल्न प्रेरित गरिरहने एउटा स्रोत हो।

मैले बुझेको सौन्दर्य कुनै एक परिभाषामा अटाउने वस्तु होइन; यो त जीवनले मलाई दिनदिनै देखाइरहने बहुपत्री पाठ हो। बाल्यकालमा सौन्दर्य भनेको आँगनको डिलमा फुलेको सयपत्री नै थियो। युवावस्थामा पुगेपछि यसले नयाँ पत्र खोल्यो– पहाडको घुम्तीबाट देखिएको सूर्यास्त, यात्रामा भेटिएका अनजान अनुहारहरू र कसैको मौनतामा बाँधिएको प्रेम। त्यतिबेला लाग्थ्यो, सौन्दर्य सधैँ उज्यालो मात्र हुँदैन, कहिलेकाहीँ छायामा झन् गहिरो हुन्छ।

जीवनका सङ्घर्षहरूले मलाई अझ फरक सौन्दर्य चिनाए। पसिना चुहाउँदै काम गरिरहेको श्रमिकको निधार, अभावमै पनि इमान जोगाइरहेको आत्मा– यी सबै सौन्दर्यका कठोर तर उज्याला पत्रहरू थिए। प्रकृतिले मलाई सधैँ आफ्नै भाषामा सौन्दर्य सुनाइरह्यो। गुराँस फुल्दा पहाड मुस्कुराएजस्तो लाग्ने, नदीको निरन्तर बहावमा धैर्य र वनको मौनतामा गहिरो संवाद भेटिने। प्रकृति कुनै सजिएको चित्र होइन, यो त जीवनको जीवित कविता हो।

आज, जीवनको यो मोडमा आएर जब म सौन्दर्यलाई फर्केर हेर्छु, त्यो मलाई कुनै ऐनाजस्तो लाग्दैन, जहाँ मात्र बाहिरी रूप देखिन्छ। सौन्दर्य त ऐनाभन्दा परको अनुभूति रहेछ– जहाँ मन, स्मृति, पीडा र आशा सबै मिसिएर एउटा सयपत्री बन्छन्। केही पत्र झरेका छन्, केही अझै फुलिरहेका छन्, तर डाँठ भने जीवनकै हातमा मजबुत अडिएको छ।

सौन्दर्यको सयपत्री यही हो– पूर्ण हुनका लागि सबै पत्र चम्किनै पर्दैन। केही ओइलाएका पत्रले नै यसको कथा गहिरो बनाउँछन्। सुन्दर हुनका लागि सजिनु होइन, स्वीकार्नु आवश्यक छ; आफू, अरू र समयले दिएको प्रत्येक पत्रलाई। यो फुल्नु मात्र होइन, झर्न जान्नु पनि हो; देखिनु मात्र होइन, महसुस हुनु पनि हो।

अन्ततः, सौन्दर्य मेरो लागि सधैँ सयपत्री नै रहनेछ– एउटै डाँठमा अडिएको जीवन र सयौँ अनुभूतिमा फुलिरहेको सौन्दर्य!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *