इलामको पाथीभरामा सात सर्जकका सातै कृति

इलाम । इलामको रोङ गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय स्थल सानो पाथीभरा मन्दिर परिसरमा आगामी पुस १९ गते विशेष साहित्यिक जमघट हुने भएको छ। ‘उन्मुक्त साहित्य संगम’ रोङको आयोजनामा पूर्वका स्थापित सात सर्जकका पछिल्ला सात कृतिहरूमाथि एकै थलोमा बृहत् चर्चा-परिचर्चा हुन लागेको हो।

पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिको समन्वयमा हुने यस कार्यक्रममा कविता, निबन्ध र आख्यान विधाका सात फरक–फरक कृतिहरूमाथि केन्द्रित रहेर बहस गरिने आयोजकले जनाएको छ।

कुन-कुन कृतिमाथि हुँदैछ चर्चा?

कार्यक्रममा समकालीन नेपाली साहित्यका चर्चित यी सात कृतिहरूका बारेमा विमर्श हुनेछ:

हाङ्युग अज्ञातको ‘हाङ्युग अज्ञातका कविताहरू’

कविता राई गाउँलेको ‘फाटकमा घाम’

गणेश निरौलाको ‘कोठेबारी ढुङ्गा र माटो’

कृष्ण उदाशीको ‘पानीको पर्खाल’

दीपेन्द्र आचार्यको ‘व्यापार पृथ्वीको’

ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’

दर्शन घिमिरेको ‘हृदयको उल्टो यात्रा’

कृति र कृतिकारहरूसँगको यो विशेष संवाद तथा भलाकुसारी कार्यक्रमको सहजीकरण युवा सर्जक सुनिता तामाङले गर्नेछिन्। साहित्यिक पर्यटनलाई समेत टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले पूर्वको साहित्य र सिर्जनाको वर्तमान अवस्थालाई उजागर गर्ने विश्वास गरिएको छ।

प्राकृतिक सुन्दरता र आध्यात्मिक उर्जाले भरिएको सानो पाथीभरामा हुन लागेको यो साहित्यिक अनुष्ठानमा इलाम, झापा, पाँचथर लगायतका छिमेकी जिल्लाहरूबाट समेत साहित्यप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *