विराटनगरमा मोटरसाइकल दुर्घटना: राष्ट्रिय क्रिकेट खेलाडीको निधन
विराटनगर । कोशी प्रदेशका प्रभावशाली क्रिकेट खेलाडी मिनष थापाको विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी दुखद निधन भएको छ। बिहीबार बिहानको राति भएको दुर्घटनामा २७ वर्षीय थापाले ज्यान गुमाएका हुन्।
मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा राति करिब पौने १ बजे दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
दुर्घटना लगत्तै गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
विराटनगर-५ निवासी थापा विगत ९ वर्षभन्दा लामो समयदेखि कोशी प्रदेशबाट घरेलु क्रिकेटमा सक्रिय थिए। उत्कृष्ट ब्याट्सम्यानका रूपमा चिनिएका उनले नेपालका विभिन्न चर्चित फ्रेन्चाइज लिगहरूमा समेत आफ्नो कौशल प्रदर्शन गरिसकेका थिए।
थापाको निधनले नेपालको क्रिकेट जगत, खेल प्रेमी र स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ। थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता छन्। उनी आमा तनुजा र भाइ प्रदीपसँगै बस्दै आएका थिए। घरको एउटा आशलाग्दो खम्बा ढलेपछि परिवारमा ठूलो बज्रपात परेको छ।
प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएको छ भने शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

