सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको भवन बनाउन प्रधानमन्त्रीको आश्वासन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रतिष्ठानका कुलपति निशा शर्मा र उपकुलपति शम्भु राईलगायतको टोली सहभागी थियो।

भेटका क्रममा टोलीले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गरोस् भनी शुभकामना व्यक्त गरेको थियो। प्रधानमन्त्री कार्की प्रतिष्ठानकी पदेन संरक्षक समेत हुन्।

कुलपति शर्माले भेटमा प्रतिष्ठानको हालको अवस्था र भावी कार्ययोजनाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइन्। उनले देशभरको गीत, सङ्गीत र नाट्य विधामा अध्ययन–अनुसन्धान गरी संरक्षणको काम गर्नुपर्ने भए पनि यो क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको गुनासो गरिन्।

कुलपति शर्माले प्रतिष्ठान हाल प्रिफ्याबको अस्थायी टहराबाट सञ्चालन भइरहेको जानकारी दिँदै स्थायी भवन निर्माणका लागि आवश्यक स्रोत–साधनको अभाव रहेको बताइन्। उनले भवन निर्माणका लागि सरकारसँग सहयोगको अपेक्षा गरिन्।

जवाफमा प्रधानमन्त्री कार्कीले प्रतिष्ठानको समस्याप्रति आफू सकारात्मक रहेको बताउँदै सम्बन्धित मन्त्रालय र निकायहरूसँग परामर्श गरी आवश्यक पहल गर्ने आश्वासन दिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *