के कुराले राम्रो मानिसलाई खराब बनाउँछ?

राम्रो मानिस एक्कासि खराब बन्दैन। व्यवहारमा आउने परिवर्तन प्रायः बिस्तारै, चुपचाप, र भित्रबाट सुरु हुन्छ। मानव व्यवहारको जरामा आधारभूत मानवीय आवश्यकताहरू हुन्छन्, जसलाई प्रेरणा पनि भनिन्छ। जन्मिएदेखि नै यी आवश्यकताले हामीले कसरी सोच्ने, महसुस गर्ने, र व्यवहार गर्ने भन्ने कुरा निर्धारण गरीदिन्छ। जब बच्चा रोइरहेको हुन्छ, त्यसलाई सामान्यतया खराब व्यवहार भनेर बुझ्ने चलन छ। “यो सधैँ रोइरहन्छ” भनेर सुन्न पाइन्छ। तर त्यो बच्चा त्यसै रोएको हुँदैन।
उसलाई केही कुरा चाहिएको हुन्छ—जस्तै खाना, न्यानोपन, सुरक्षा, वा माया। त्यो रोदन एक प्रकारको सन्देश हो जुन बच्चाले आफ्नो अभिभावकसम्म पुर्याउन खोज्छ। हामी बढ्दै जाँदा यी आवश्यकताहरू हराउँदैनन्; बरु त्यसले अझ जटिल रूप लिन सुरु गर्छ। जब वयस्कहरूले आफ्ना आवश्यकताहरू स्वस्फुर्त तरिकाले पूरा गर्न सक्दैनन्, तब ती अपूरा आवश्यकताले खराब व्यवहारको रूप लिन थाल्छ।
हामीले “खराब व्यवहार” भनेर भन्ने धेरै कुरा वास्तवमा गहिरा मानवीय आवश्यकताहरूको बेवास्ता तथा पूरा नभएको अवस्थाको परिणाम हुनसक्छ।
माथि उल्लेखित विचार नयाँ होइन।
प्राचीन दार्शनिक अरस्तुले मानिस स्वाभाविक रूपमा राम्रो र अर्थपूर्ण जीवन चाहन्छन् भनेका थिए।
उनले भनेका थिए—जब मानिस आफ्ना गहिरा आवश्यकताअनुसार बाँच्न पाउँदैनन्, तब उनको व्यवहार बिग्रन्छ—उग्र, विध्वंसकारी बन्छ। गौतम बुद्धले पनि दुःखको कारण अपूरा इच्छा र चाहना हुन् भनेर बताएका थिए।
तसर्थ, जब मानिसले आफ्ना भित्री चाहनाहरू बुझ्दैनन् र पूरा गर्न सक्दैनन्, ती चाहनाले नै उनीहरूको व्यवहार नियन्त्रण गर्न थाल्छ। पछि सिग्मन्ड फ्रायडले पनि भने—धेरै मानवीय व्यवहार सचेत भएर गरिएका निर्णयहरू होइनन्। ती कुराहरू मानवीय आवश्यकताहरूको बेवास्ता तथा पूरा नभएको अवस्थाको परिणाम हुन्। यी कुराहरूले मानिसहरूलाई कठपुतली समान बनाइ दिन्छ।
सिग्मन्ड फ्रायडले स्पष्ट पारे—व्यवहारको सतहमुनि गहिरा कारणहरू हुन्छन्।
२०औँ शताब्दीमा अब्राहम मास्लोले एउटा उल्लेखनीय काम गरे। उनले यी विचारहरूलाई सरल बनाउँदै मानवीय आवश्यकताहरूलाई विभिन्न तहहरूमा राखे, जसलाई हामी (Human Need Hierarchy) भनेर पढ्ने गर्छौं।
अब्राहम मास्लोका अनुसार मानिस पहिले बाँच्न र सुरक्षित हुन खोज्छ, त्यसपछि माया र अपनत्व, त्यसपछि आत्मसम्मान, र अन्त्यमा अर्थ र जीवनको उद्देश्यको परिपूर्ति चाहन्छ। तल्लो तहका आवश्यकता पूरा नभएसम्म माथिल्लो तहको व्यवहार स्थिर हुँदैन। मास्लोको कामले धेरै सामाजिक र व्यक्तिगत समस्या नैतिक कमजोरी होइन, अपूरा मानवीय आवश्यकताका परिणाम हुन् भन्ने कुरा देखायो।
आधुनिक मनोविज्ञान र स्नायु-विज्ञानले यो बुझाइलाई अझ गहिरो रूपमा अध्ययन गरेको छ।
आजका अनुसन्धानहरूले भन्छ — मानिसहरू करिब तीस वटा मानवीय आवश्यकताबाट चलाइन्छन्। ती आवश्यकताहरूमा बचाइ, सुरक्षा, स्वास्थ्य, माया, अपनत्व, स्वीकृति, पहिचान, सम्मान, नियन्त्रण, स्वतन्त्रता, विकास, अभिव्यक्ति, उद्देश्य, र योगदान जस्ता कुराहरू पर्छन्। आधुनिक मनोवैज्ञानिकहरूले विकास गरेको Self-Determination Theory ले स्वतन्त्रता, क्षमता, र सम्बन्ध स्वस्थ व्यवहारका लागि आवश्यक र अपरिहार्य हुन्छ भन्छ।
मनोवैज्ञानिकहरूले भन्छन्—जब यी आवश्यकताहरू पूरा हुँदैनन्, तब मानिसहरूले अनौठो र विध्वंसकारी व्यवहार गर्न थाल्छन्।
जब सुरक्षा र आरामजस्ता आधारभूत आवश्यकता पूरा हुँदैनन्, मानिस डराएको, आक्रामक, वा अरूलाई अत्यधिक रूपमा नियन्त्रण गर्ने स्वभावको बन्छ।
अर्कोतर्फ, माया र अपनत्व नपाउँदा मानिसमा एक्लोपन, ईर्ष्या, वा भावनात्मक दूरी देखिन सक्छ। पहिचान र आत्मसम्मानमा चोट लाग्दा असुरक्षा अहंकारको रूपमा देखिन सक्छ। उसले चाहेको नियन्त्रण र स्वतन्त्रता रोकिँदा मानिस विद्रोही, चलाखी गर्ने, वा अरूलाई दोष दिने हुन सक्छ।
अर्थपुर्ण जीवन बाच्न नपाउदा जीवन खाली खाली लाग्न थाल्छ, यो कुराले लागु पदार्थको लत, उदासीनता, वा लापरवाह व्यवहार जन्माउन सक्छ।
समय बित्दै जाँदा यस्ता प्रतिक्रियाहरू बानी बनिदिन्छन्, र ती बानीले व्यक्तित्वको स्वरूप लिन थाल्छ।
तसर्थ, व्यवहार आफैंमा समस्या होइन; त्यो एउटा संकेत हो। माथि उल्लेखित उदाहरणमा बच्चा रोएजस्तै, वयस्कको खराब व्यवहार पनि अपूरा आवश्यकताको सन्देश हो। (सञ्जीवन प्रधानको वालबाट)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *