‘विश्व ध्यान दिवस’ मनाइँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ ‘विश्व ध्यान दिवस’ मनाइँदै छ। राष्ट्रसङ्घको महासभाले गत वर्ष डिसेम्बर २१ लाई आधिकारिक रूपमा यो दिवसको मान्यता दिएसँगै नेपालमा सरकारकै आयोजनामा दोस्रो पटक यो दिवस मनाउन लागिएको हो।

सन् २०१४ देखि सुरु भएको ११ वर्षको निरन्तर प्रयास र नेपालसहित १८ देशको प्रस्तावलाई राष्ट्रसङ्घले गत वर्ष डिसेम्बर ७ मा पारित गरेको थियो। योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै राष्ट्रसङ्घले यसको महत्त्वलाई विश्वव्यापी मान्यता दिएको छ।

यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ। त्यसैगरी दक्षिणकालीको बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा अन्तरक्रिया र सामूहिक ध्यानका कार्यक्रमहरू तय भएका छन्। नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ बनाउनुपर्ने माग भइरहेका बेला विभिन्न सरोकारवाला निकायहरूले पनि आज देशभर यो दिवस मनाइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *