विद्यार्थीको कपाल जथाभाबी नकाट्न विद्यालयहरूलाई निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई विद्यार्थीको कपाल लामो भएको बहानामा जथाभाबी मुण्डन नगर्न र काटिदिने जस्ता कार्य नगर्न कडा निर्देशन दिएको छ। महानगरको शिक्षा विभागले बुधबार एक परिपत्र जारी गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई विद्यार्थीको मानमर्दन र मानसिक यातना हुने गरी कुनै पनि व्यवहार नगर्न सचेत गराएको हो।

केही विद्यालयहरूमा छात्रहरूको कपाल लामो भएको भन्दै शिक्षक वा कर्मचारीले जथाभाबी काटिदिने गरेको र त्यसले विद्यार्थीको आत्मसम्मानमा चोट पुग्नुका साथै गम्भीर मनोवैज्ञानिक असर परेको भन्दै महानगरमा गुनासो पुगेपछि यो कदम चालिएको हो। कतिपय अवस्थामा सार्वजनिक रूपमा कपाल काटिदिँदा विद्यार्थीहरू विद्यालय जानै डराउने र हिनताबोध गर्ने गरेको पाइएको छ।

महानगरले शिक्षा नियमावली, २०५९ को व्यवस्थालाई उद्धृत गर्दै विद्यालयहरूलाई सचेत गराएको छ। नियम २५ (ट): यसअनुसार विद्यालय व्यवस्थापन समितिले विद्यालय सञ्चालनका लागि आचारसंहिता बनाएर लागू गर्न सक्छ। नियम १३३ (१) (ट): यसले स्पष्ट रूपमा कुनै पनि विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने व्यवस्था गरेको छ।

महानगरले विद्यालयको आचारसंहिता पालना गराउँदा कानुनले वर्जित गरेको ‘मानसिक वा शारीरिक यातना’ को विधि प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ। “विद्यार्थीको व्यक्तित्व विकास र अनुशासनको नाममा गरिने यस्ता अमर्यादित कार्यहरू तत्काल रोकिनुपर्छ,” महानगरद्वारा जारी निर्देशनमा भनिएको छ। विद्यालयले कपाल काट्नु पर्ने भएमा अभिभावकलाई जानकारी गराउने वा विद्यार्थीलाई सम्झाउने जस्ता मर्यादित विधि अपनाउन र कानुनको परिधिभित्र रहेर मात्र आचारसंहिता कार्यान्वयन गर्न विद्यालयहरूलाई अनुरोध गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *