नेपाल ट्रस्टको जग्गामा ‘अर्बौंको खेल’ : पूर्वसचिवसहित ३ जना विरुद्ध मुद्दा

काठमाडौँ। काठमाडौँको दरबारमार्गमा रहेको नेपाल ट्रस्टको बहुमूल्य जग्गा लिजमा दिने क्रममा भएको ‘अर्बौँको खेल’ अब अदालतको कठघरामा पुगेको छ। नेपाल ट्रस्टको नाममा रहेको १ रोपनी १४ आना जग्गा थामसेर्कु ट्रेकिङलाई सुम्पिँदा राज्यलाई ५ अर्ब २५ करोडभन्दा बढी घाटा पुर्याएको निष्कर्षसहित बुधबार ठगी मुद्दा दायर गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पूर्वसचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पालाई मुख्य अभियुक्त बनाएर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। थामसेर्कु ट्रेकिङलाई पनि प्रतिवादी बनाइएको छ।

६ अर्बको प्रस्ताव, डेढ अर्बमा सम्झौता अनुसन्धानका क्रममा यो प्रकरणमा अचम्मको चलखेल फेला परेको छ। थामसेर्कु ट्रेकिङले सुरुमा सो जग्गा ३० वर्षका लागि लिजमा लिँदा नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ दिने प्रस्ताव गरेको थियो। तर, सरकारी अधिकारीहरूसँगको ‘सेटिङ’ मा उक्त प्रस्तावलाई लत्याउँदै मात्र १ अर्ब ५९ करोड ४० लाख रुपैयाँमा सम्झौता गरियो।

प्रस्ताव गरिएको रकम र सम्झौता गरिएको रकमबीचको यही ५ अर्ब २५ करोड ६३ लाख रुपैयाँलाई सीआईबीले बिगो कायम गरेको छ। २०७४ जेठ १४ गते भएको सो सम्झौतामा निर्माण अवधिको नाममा थप सहुलियत दिएर राज्यकोषमाथि ठगी गरिएको दाबी गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो समय लगाएर गरेको अनुसन्धानले यो सम्झौतालाई ‘नियमसङ्गत नदेखिएको र नियतवश ठगी गरिएको’ ठहर गरेको छ। सोही प्रतिवेदनका आधारमा सरकारी वकिलले प्रतिवादी बनाइएका तीनै जनालाई जनही ५ वर्ष कैद र बिगो बमोजिमको जरिवाना माग गर्दै मुद्दा अगाडि बढाएको हो।

दरबारमार्गको कित्ता नम्बर ४६०६ को यो जग्गा प्रकरणले सरकारी सम्पत्तिमाथि निजी स्वार्थका लागि कसरी उच्च पदस्थ अधिकारी र व्यवसायीको मिलेमतो हुन्छ भन्ने प्रस्ट चित्र देखाएको छ। अब यसको अन्तिम फैसला भने जिल्ला अदालत काठमाडौँको इजलासले गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *