लैङ्गिक हिंसा विरुद्धको अभियानमा योगदान दिने कार्की सम्मानित
इलाम । सूर्योदय नगरपालिकाले ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ लाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी नायब निरीक्षक जीवनकुमार कार्कीलाई प्रशंसा पत्रद्वारा सम्मानित गरेको छ।
नगर कार्यपालिकाको कार्यालय, फिक्कलमा आयोजित एक कार्यक्रमका बीच कार्कीलाई उक्त सम्मान प्रदान गरिएको हो। इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत कार्कीले गत मंसिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालित अभियानमा पुर्याएको महत्वपूर्ण सहयोग, समन्वय र सहजीकरणको कदर गर्दै नगरपालिकाले सम्मान गरेको हो।
स्थायी घर भोजपुर, प्याउली–१ भइ हाल इटहरी–१६ मा बसोबास भएका कार्कीले नियमित कर्तव्य पालनका साथै सामाजिक कार्यहरुमा पनि योगदान दिंदै आएका छन्।
सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८२–८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरेको थियो।
प्रशंसा पत्रमा कार्कीले समुदायमा लैङ्गिक समता, न्याय र संवेदनशीलता प्रवर्द्धन गर्न देखाएको समर्पण, नेतृत्व र प्रतिबद्धताको उच्च मूल्याङ्कन गरिएको छ।
सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति इलामकी उपप्रमुख तथा विशेष अतिथि चित्रकला बराइली र सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालको उपस्थिति थियो। नगरपालिकाले कार्कीको उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरेको छ।
