मदन पुरस्कार विजेता ‘सेतो धरती’ अब नाटकमा
प्रतीकात्मक तस्बिर
काठमाडौँ । नेपाली पाठकहरूको मन जित्न सफल अमर न्यौपानेको चर्चित उपन्यास ‘सेतो धरती’ अब नाटकको रूपमा मञ्चन हुने भएको छ। ‘कान्तिपुर थिएटर’ ले आफ्नो चौथो प्रस्तुतिको रूपमा यस कृतिको नाट्य रूपान्तरण गर्न लागेको हो।
चौथो प्रस्तुतिको तयारी यसअघि ‘मीरा’, ‘शिरीषको फूल’ र ‘महारानीको जात्रा’ जस्ता सफल नाटकहरू मञ्चन गरिसकेको कान्तिपुर थिएटरले अहिले ‘सेतो धरती’ माथि काम गरिरहेको छ। थिएटरका सीईओ प्रकाश पुरीका अनुसार लेखक अमर न्यौपानेसँग औपचारिक अनुमति लिएर नाटकको लेखन प्रक्रिया अगाडि बढाइएको हो।
पाठकलाई नयाँ अनुभव दिने लक्ष्य “सेतो धरती एकदमै चर्चित र सर्वाधिक बिक्री भएको पुस्तक हो,” सीईओ पुरीले भने, “यसका पाठकहरूले पुस्तकमा कल्पना गरेको कथालाई भिजुअल (दृश्य) मा हेर्दा कस्तो हुँदो रहेछ भन्ने अनुभव गराउन हामीले यसलाई मञ्चन गर्न लागेका हौँ।” नाटकका लागि लेखक न्यौपानेले महत्त्वपूर्ण सुझाव र सहयोग गरेको पुरीले जानकारी दिए।
निर्देशक र मिति तय हुन बाँकी हाल नाटकको नाट्य रूपान्तरणको कार्य भइरहेकाले यसको निर्देशक, कलाकारहरू र मञ्चन हुने ठ्याक्कै मिति भने सार्वजनिक गरिएको छैन। थिएटरले चाँडै नै प्राविधिक र कलाकारहरूको टिम फाइनल गरी मञ्चनको मिति घोषणा गर्ने तयारी गरेको छ।
‘अ ह्वाइट लाइफ’ बनेर आउँदै ‘सेतो धरती’
यसैबीच, ‘सेतो धरती’ अब अङ्ग्रेजी भाषामा अनुवाद भएर पाठकमाझ आउँने भएको छ। ‘अ हवाइट लाइफ’ नामबाट यो कृति आगामी शनिबार पाठकमाझ आउने भएको हो। सर्जक न्यौपानेका अनुसार काठमाडौँ, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा यो संस्करणको लोकार्पण हुँदैछ।
यसको अनुवाद निरञ्जन कुँवरले गरेका हुन् भने सम्पादन अनुराग बस्नेतले गरेका छन्।
