बुवाप्रति समर्पित बालेनको गीत लाखौं दर्शक तान्दै
काठमाडौँ। पुस ४ गते शुक्रबार बाट प्रदर्शनमा आउने चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को अफिसियल साउन्डट्र्याकले रिलिजको २४ घण्टाभित्रै ठूलो सफलता हात पारेको छ। आइतबार राति सार्वजनिक भएको ‘आम नेपाली बुवा’ नामक र्याप गीतले २४ घण्टामा १२ लाखभन्दा बढी भ्युज पाएको छ। दर्शकहरूले यो गीतलाई अत्यधिक रुचाएका छन्। यसको चर्चा चुलिएको छ।
गीतको कमेन्ट बक्समा भिडियो हेर्ने अधिकांश दर्शकहरूले यो गीतले नेपालको वर्तमान अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेको भन्दै प्रशंसाको ओइरो लगाएका छन्। ‘आम नेपाली बुवा’ बोलको यो गीतमा र्याप सँगसँगै शब्द पनि बालेनको छ। गीतमा आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्ध लगायत समाजको यथार्थलाई शक्तिशाली र्यापमार्फत समावेश गरिएको छ।
गीतका शब्द र र्यापको कोरसमा समावेश महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको अंश ‘कुन मन्दिरमा जान्छौ यात्री’ ले दर्शक तथा श्रोतालाई विशेष रूपमा आकर्षित गरेको छ।
छोटो समयमा गीतले पाएको यो अपार सफलताले चलचित्रप्रति दर्शकको उत्साह झन् बढेको छ। यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका चर्चित हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले दर्शकबाट पाएको यो मायाले आफूलाई अत्यन्तै उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्। नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यो चलचित्रबाट अभिनेता गणेश उप्रेती लामो समयपछि नेपाली रजतपटमा कमब्याक गर्दैछन्। छायांकनका लागि उनी अमेरिकाबाट नेपाल फर्किएका थिए।
चलचित्रमा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई को अभिनय छ।
कलाकारहरू विमोचन दवाडी र जेसिका पोखरेल ले यसै चलचित्रबाट डेब्यु गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवाल ले अभिनय गरेका छन्। साथै, एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन्।
