साहित्य, संगीत र कलाक्षेत्रका ८ जना स्रष्टाहरू सम्मानित

काठमाडौँ। जनमत वाङ्मय प्रतिष्ठान, नेपालको ४२औँ वार्षिकोत्सव विविध साहित्यिक कार्यक्रमहरूसहित सम्पन्न भएको छ। सोही अवसरमा साहित्य, संगीत र कलाक्षेत्रका आठ जना स्रष्टाहरू पनि सम्मानित भएका छन्।

जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष २०५० सालदेखि निरन्तर रूपमा प्रदान गरिँदै आएका ती सम्मानहरूको सङ्ख्या धेरै भएको हुँदा यस वर्ष विभिन्न स्रष्टाहरूलाई दुई चरणमा प्रदान गरिने जानकारी अध्यक्ष मोहन दुवालले कार्यक्रममा दिएका थिए। आ-आफ्नो विधामा लामो समयदेखि निरन्तर रूपमा संलग्न रही योगदान पुर्‍याउँदै आइरहेका स्रष्टाहरूलाई यो सम्मान प्रदान गरिएको पनि अध्यक्ष दुवालले जानकारी दिएका थिए।

विभिन्न विधामा सम्मानित हुने स्रष्टाहरूमा नियात्राकार तथा लेखक निर्मोही व्यासलाई २०८१ सालको ‘दीपा-जनमत सम्मान’ अर्पण गरिएको थियो। त्यसैगरी लेखक ज्ञानेन्द्र विवशलाई ‘जनमत-महेन्द्रलाल कलाकार सम्मान’ प्रदान गरिएको थियो। यात्रा लेखक तथा कलाकार एवं कला समीक्षक विवश सरल पत्रिकाका नियमित स्तम्भकार समेत हुन्।

त्यसैगरी अन्य सम्मानित हुनेहरूमा ‘गणेश-खिलकुमारी दुवाल–जनमत सम्मान’ श्याम तमोटलाई, ‘केवलपुरे–जनमत सम्मान’ खेमराज निरौलालाई, ‘कमला सैंजू–जनमत सम्मान’ मोतिशोभा श्रेष्ठलाई, ‘जनमत–राजभाई सहयात्री सम्मान’ कृष्णप्रसाद आचार्यलाई, ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ बाजुराम पौडेललाई र ‘जनमत–केदार–सुदर्शना बालसाहित्य सम्मान’ ज्योति अधिकारीलाई अर्पण गरिएको थियो।

सो समारोहमा सम्बन्धित विधाका अग्रजहरूले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। यसरी सम्मान प्रदान गर्नेहरूमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के. सुन्दर, उपसभामुख इन्दिरा राना मगर, वरिष्ठ कलाकार राधेश्याम मुल्मी, साहित्यकार रामप्रसाद पन्त, कवि कृष्ण प्रधान र इन्दिरा श्रेष्ठ थिए।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तद्वारा आठै जना सम्मानित स्रष्टाहरूको परिचय दिइएको थियो। कार्यक्रममा पुरस्कृतहरूका तर्फबाट नियात्राकार निर्मोही व्यासले मन्तव्य प्रकट गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई र जनमतका अध्यक्ष तथा प्रधान सम्पादक मोहन दुवालले पनि मन्तव्य प्रकट गरेका थिए। सोही अवसरमा उपसभामुख इन्दिरा रानाले सुमधुर स्वरमा गीत प्रस्तुत गरेकी थिइन्।

जनमत वाङ्मय प्रतिष्ठानका सदस्य सिर्जना दुवालले स्वागत मन्तव्यसँगै स्वागतगान प्रस्तुत गरेर सबैको स्वागत गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *