मेसी भारत आउँदै : एउटै तस्बिरको मूल्य १० लाख !

काठमाडौँ। फुटबलका महान खेलाडी लियोनेल मेसी शनिबार (डिसेम्बर १३) भारत आउँदैछन्। उनी बिहान करिब १०:३० बजे कोलकाताको साल्ट लेक रङ्गशालामा ओर्लिने कार्यक्रम छ।

विश्वकप विजेता मेसीलाई प्रत्यक्ष भेट्ने आशा राखेकाहरूका लागि भने यो अनुभव निकै महँगो साबित हुने देखिएको छ। ‘द गोट इन्डिया टुर २०२५’  का आयोजकहरूले घोषणा गरेअनुसार मेसीसँग एउटा तस्बिर खिचाउन ९ लाख ९५ हजार रुपैयाँ (भारु) र अतिरिक्त कर लाग्नेछ। यो विशेष भेटघाटका लागि केवल १०० जनाको कोटा छुट्याइएको छ। यो ‘मिट एण्ड ग्रीट’ (भेटघाट) कार्यक्रम विलासी फलकनुमा प्यालेसमा हुने अपेक्षा गरिएको छ। यसका लागि अनलाइन बुकिङ समेत खुला भइसकेको छ।

तस्बिर खिचाउने मूल्य सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ। समर्थकहरूले अविश्वासदेखि व्यङ्ग्यसम्मका प्रतिक्रिया दिइरहेका छन्। कतिपयले एआई प्रयोग गरेर मेसीसँग तस्बिर बनाउनु धेरै सस्तो पर्ने भन्दै ठट्टा गरेका छन् भने कतिपयले एउटा तस्बिरका लागि यति ठूलो रकम खर्च गर्नुको औचित्यमाथि प्रश्न उठाएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

मेसीको यो ‘गोट इन्डिया टुर’ चार प्रमुख सहरहरू-कोलकाता, हैदरावाद, मुम्बई र नयाँ दिल्लीमा सञ्चालन हुनेछ। तीन दिने भ्रमणका क्रममा सार्वजनिक कार्यक्रम, उपस्थिति र फुटबलसम्बन्धी गतिविधिहरू आयोजना हुनेछन्। यो भ्रमणले मेसीको विश्वव्यापी उचाइको उत्सव मात्र मनाउने छैन, भारतीय समर्थकहरूलाई आफ्ना आदर्श खेलाडीलाई नजिकबाट नियाल्ने दुर्लभ अवसर पनि प्रदान गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *