सुदूरपश्चिम र लुम्बिनी, को बन्ला च्याम्पियन ?

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने यो भिडन्तले लिगको नयाँ च्याम्पियन टुङ्गो लगाउनेछ।

साविक विजेता टोली प्रतियोगिताबाट बाहिरिइसकेका कारण यसपटक एनपिएलले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ। उपाधि रक्षा र इतिहास रच्न दुवै टोली तयारी अवस्थामा छन्।

राष्ट्रिय टोलीका कप्तान र उपकप्तानको लडाइँ

यो फाइनल खेल दुई टोलीको मात्र नभई राष्ट्रिय क्रिकेट टोलीका कप्तान र उपकप्तानबीचको नेतृत्व कौशलको परीक्षा पनि हो। लुम्बिनी लायन्सको कप्तानी राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले सम्हालेका छन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्।

लिग चरणको प्रदर्शन र साविक उपविजेताको अनुभवका आधारमा रोयल्स बलियो देखिएको छ। लिगका सातमध्ये चार खेल जितेर पहिलो क्वालिफायरमार्फत रोयल्स सोझै फाइनल पुगेको हो। गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित हुँदै उपविजेतामा सीमित बनेको सुदूरपश्चिम यसपटक त्यो अधुरो यात्रा पूरा गर्ने लक्ष्यमा छ।

अर्कोतर्फ, लुम्बिनी लायन्स उत्कृष्ट लयमा छ। लिग चरणका सातमध्ये चार खेल जितेको लुम्बिनीले एलिमिनेटर र दोस्रो क्वालिफायर जित्दै फाइनलमा स्थान पक्का गरेको हो। पछिल्ला पाँच खेलमा लगातार जित हासिल गरेको लुम्बिनीको मनोबल उच्च छ। गत संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यसपटक उपाधि नजिक पुगेको हो।

जारी सिजनमा यी दुई टोलीबीच भएको एक मात्र भेटमा रोयल्स ७ विकेटले विजयी भएको थियो। यस्तै, गत संस्करणको भेटमा पनि लायन्स ४५ रनले पराजित भएको इतिहास छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आफूहरू च्याम्पियन बन्न तयार रहेको बताए। उनले भने, “गत वर्ष फाइनलमा चुकेका हौँ। सबै कमीकमजोरी सुधार गर्दै यस पटक च्याम्पियन बन्ने हाम्रो लक्ष्य हो।” लुम्बिनीका कप्तान रोहित पौडेलले टोली सबै पक्षबाट तयार रहेको बताए। “हामीहरू पछिल्लो पाँच खेल लगातार जितेर फाइनलमा पुगेका हौँ। हाम्रो ध्यान अब ट्रफी जित्नेमा छ,” पौडेलले भने।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोली सहभागी थिए। प्रतियोगिताको विजेताले रु १ करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु ५१ लाख पाउनेछ। यस्तै, तेस्रो हुने टोलीले रु २५ लाख र चौथोले रु १५ लाख प्राप्त गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *