अब नेपालमै कोरिया भिसा आवेदन केन्द्रको सेवा
काठमाडौँ। विभिन्न प्रयोजनका लागि दक्षिण कोरिया जाने नेपालीहरूका लागि भिसा आवेदन प्रक्रिया सहज बनाउने उद्देश्यका साथ काठमाडौँमा कोरिया भिसा आवेदन केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ। शुक्रबार ललितपुरको वनस्काई भवनमा आयोजित एक समारोहबीच केन्द्रको उद्घाटन गरियो। केन्द्रले आगामी पुस २ गते देखि औपचारिक रूपमा सेवा प्रदान गर्न सुरु गर्नेछ।
उद्घाटन समारोहमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ, हानाटुरका प्रमुख कार्यकारी अधिकृत सोङ मी सन, नेपाल सरकार परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू र स्थानीय व्यापारिक समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।
हानाटुरकी सीईओ सोङ मी सनले बढ्दो द्विपक्षीय जनस्तरको सम्बन्धका कारण भिसा आवेदनको सङ्ख्या तीव्र रूपमा वृद्धि भएको अवस्थामा कोरिया सरकारले हानाटुरलाई नेपालमा सहज व्यवस्थापनको महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको बताइन्। उनले चीन, भियतनाम र फिलिपिन्ससहितका देशमा भिसा केन्द्र व्यवस्थापन गरेको ३० वर्षको अन्तर्राष्ट्रिय अनुभव हानाटुरसँग रहेको उल्लेख गरिन्। उनले नेपालमा आवेदकहरूलाई उच्चतम सुविधा प्रदान गर्दै स्थिर तथा फलदायी सेवा दिनका लागि प्रतिबद्ध रहेको धारणा राखिन्।
नयाँ भिसा आवेदन केन्द्रले आवेदकहरूको सुविधाका लागि थुप्रै सुधारहरू गरेको छ। ललितपुरमा अवस्थित यस केन्द्रले कार्यालय सञ्चालन हुने हरेक दिन भिसा आवेदन बुझाउने समयलाई साँझ ४:०० बजेसम्म विस्तार गरेको छ। पहिले यो समय बिहानको लागि मात्र सीमित थियो।
यसैगरी, टेलिफोन परामर्श सेवा साँझ ९:०० बजेसम्म उपलब्ध गराउने योजना छ। साथै, भिसा शुल्क भुक्तानीका लागि थप विकल्पहरू उपलब्ध गराउने र एसएमएस ट्र्याकिङ तथा कुरियर सेवाहरूजस्ता महत्त्वपूर्ण सेवाहरू पनि केन्द्रले प्रदान गर्नेछ। भविष्यमा सेवाग्राहीको माग अनुरूप अन्य सेवाहरू क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिइएको छ।
