कोलकातामा मेस्सीको ७० फिट अग्लो प्रतिमा
काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका लागि भारतको पश्चिम बंगालस्थित कोलकातामा एक विशेष सम्मान तयार भएको छ। कोलकाताको दक्षिण दमदमस्थित श्री भूमि स्पोर्टिङ क्लबले मेस्सीको ७० फिट अग्लो विशाल फलामे प्रतिमा निर्माण सम्पन्न गरेको छ।
यो प्रतिमा हालसम्मकै सबैभन्दा ठूलो भएको बताइएको छ। प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी समाइरहेको दृश्य देखाइएको छ र हाल अन्तिम तहको फिनिसिङ कार्य जारी छ।
श्री भूमि स्पोर्टिङ क्लबका अध्यक्ष तथा पश्चिम बंगालका मन्त्री सुजीत बोसका अनुसार प्रतिमाको निर्माण कार्य जम्मा ४० दिनमै पूरा गरिएको हो। मन्त्री बोसले मेस्सीको यस्तो उचाइको प्रतिमा संसारमै नभएको दाबी गर्दै, मेस्सी कोलकाता आउँदै गरेको र यहाँ उनका धेरै फ्यान रहेको बताए।
उनले यसअघि म्याराडोना, इमिलियानो मार्टिनेज र रोनाल्डिन्होजस्ता महान हस्तीहरू पनि कोलकाता आइसकेको उल्लेख गरे। आगामी २०२६ को विश्वकपको सन्दर्भमा यस प्रतिमालाई विशेष मानिएको र मेस्सी स्वयंले पनि यसलाई मन पराउने विश्वास व्यक्त गरिएको छ।
मन्त्री बोसका अनुसार मेस्सी सुरक्षा कारणले व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने भएकाले प्रतिमाको भर्चुअल उद्घाटन डिसेम्बर १३ मा हुनेछ।
