धनकुटा अस्पताल शिक्षण अस्पताल बन्दै: मनमोहनले सुरु गर्दै ‘बीएससी नर्सिङ’
फाइल तस्बिर
विराटनगर । कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयले चिकित्सा शिक्षातर्फ पाइला अघि बढाउँदै ‘बीएससी नर्सिङ’ कक्षा सञ्चालनको अन्तिम तयारी गरेको छ। धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेसँगै विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाटै नर्सिङ अध्यापन सुरु गर्ने योजना बनाएको हो।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार चिकित्सा शिक्षा आयोगको मापदण्ड र निर्देशनबमोजिम बीएससी नर्सिङ विषयको पाठ्यक्रम पूर्ण रूपमा तयार भइसकेको छ।
कोशी प्रदेश सरकारले गत जेठमै धनकुटा अस्पताललाई मनमोहनको शिक्षण अस्पतालका रूपमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको थियो। सोही निर्णय कार्यान्वयन हुने चरणमा रहेको बताउँदै उपकुलपति पोखरेलले भने, ‘सम्भवतः माघभित्रमा हामीले धनकुटा अस्पतालको स्वामित्व र जिम्मेवारी प्राप्त गरिसक्छौँ। त्यसपछि लगत्तै प्रक्रिया अघि बढाएर वैशाखभित्र नर्सिङतर्फको पठनपाठन सुरु गर्ने हाम्रो लक्ष्य छ।’
पाठ्यक्रम तयार, मन्त्रालयको निर्णय पर्खाइमा
विश्वविद्यालयअन्तर्गतको ‘स्कुल अफ मेडिकल एन्ड हेल्थ साइन्स’ले चार वर्षे बीएससी नर्सिङ कार्यक्रमका लागि नयाँ पाठ्यक्रम तयार पारिसकेको छ। उक्त पाठ्यक्रम र तयारीको चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. सुजबाबु मरहठासहितको टोलीले स्थलगत निरीक्षण समेत गरिसकेको विश्वविद्यालयले जनाएको छ।
वि.सं. २०७६ मा स्थापना भएको देशकै पहिलो यो प्राविधिक विश्वविद्यालयले आफ्नै शिक्षण अस्पताल नहुँदा हालसम्म मेडिकलतर्फका मुख्य कार्यक्रमहरू सञ्चालन गर्न सकिरहेको थिएन। अहिले विश्वविद्यालयले अस्पताल हस्तान्तरणसम्बन्धी सम्झौताको खाका प्रदेश सरकारलाई बुझाइसकेको छ। यद्यपि, प्रदेशको स्वास्थ्य मन्त्रालयबाट उक्त फाइल सदर भई अन्तिम सम्झौता हुन भने बाँकी छ। सरकारसँगको सम्झौता टुङ्गो लाग्नासाथ भर्ना प्रक्रिया अघि बढ्ने विश्वविद्यालयले जनाएको छ।
हाल मनमोहन प्राविधिक विश्वविद्यालयले आफ्ना आङ्गिक क्याम्पसहरूमार्फत प्राविधिक तथा व्यावसायिक विषयहरूमा अध्यापन गराउँदै आएको छ। जसमा इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स (स्नातक), फार्मेसी, पाँच वर्षे बीबीए–एलएलबी सञ्चालनमा छन्। त्यस्तै, स्नातकोत्तरतर्फ एलएलएम र हस्पिटल म्यानेजमेन्ट विषयको पढाइ भइरहेको छ।
