झुम्का कारागारबाट फरार ‘कुख्यात’ अपराधी विराटनगरबाट पक्राउ
विराटनगर । सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कुख्यात अपराधी पप्पुकुमार यादव (पप्पु सिंह) बुधबार दिउँसो विराटनगरमा पक्राउ परेका छन् ।
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ घर भएका २९ वर्षीय यादवलाई मोरङ प्रहरीको टोलीले विराटनगर महानगरपालिका–१८ भेडियारीबाट दिउँसो ३:४० बजेतिर पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उनलाई अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको असई धनप्रसाद रिमालको टोलीले पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीले यादवलाई २४ वर्ष ८ महिना १५ दिनको लामो कैद सजाय हुने फैसला सुनाएको थियो । गत असार १७ गते पक्राउ परेका यादवलाई अदालतले दोषी ठहर गरेपछि सजाय भुक्तानका लागि झुम्का कारागार चलान गरिएको थियो ।
तर, सजाय भुक्तान गरिरहेका बेला यादवले गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ को मौका छोपी कारागारबाट नाटकीय रूपमा फरार भएका थिए । फरार भएको करिब तीन महिनापछि उनी विराटनगरमा लुकिछिपी बसेको अवस्थामा फेला परेका हुन् ।
पक्राउ परेका यादवलाई अहिले इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ र इन्स्पेक्टर कविन राईको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
