विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्ने सरकारको तयारी
काठमाडौँ। धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहमा बोल्दै सो विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्नेतर्फ सरकार लागेको जानकारी दिइन्। प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा हुँदै आएको राजनीतिकरणलाई अन्त्य गर्ने उद्देश्यले सरकारले प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको स्पष्ट पारिन्।
उनका अनुसार प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्नका लागि सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्, विभिन्न विश्वविद्यालयका कुलपति, उपकुलपति र अन्य सरोकारवालाहरूसँग गम्भीर परामर्श गरिरहेको छ।
प्रधानमन्त्री कार्कीले पछिल्लो समय प्रधानमन्त्री नै कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएको बताउँदै ऐन संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ सरकारको तयारी रहेको जानकारी दिइन्।
यस्तो व्यवस्थाले नेपालको उच्च शिक्षामा लामो समयदेखि चल्दै आएको राजनीतिकरणको परम्परालाई सदाका लागि अन्त्य गर्ने विश्वास उनले व्यक्त गरिन्। त्यस अवसरमा उनले नेपालको उच्च शिक्षा सुधारमा काठमाडौँ विश्वविद्यालयले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्दै अन्य विश्वविद्यालयहरूलाई पनि त्यसको ढाँचा अनुशरण गर्न आग्रह गरिन्।
