अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूमा लगाइएको प्रतिबन्ध मंगलबार मध्यरातदेखि कार्यान्वयनमा आएको छ।
एक वर्षअघि पारित गरिएको यो ‘विश्व-अग्रणी’ कानुन अन्तर्गत १६ वर्षमुनिका बालबालिकाहरूलाई फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, एक्स, युट्युब, रेडिट तथा स्ट्रिमिङ प्लेटफर्म किक र ट्वीचजस्ता प्रमुख सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाइएको छ।
यद्यपि, बालबालिकाहरूले युट्युब किड्स, गुगल क्लासरूम तथा व्हाट्सएपजस्ता मेसेजिङ एप भने प्रयोग गर्न पाउनेछन्।
अस्ट्रेलियाली सरकारले बालबालिकालाई अनलाइनमा सुरक्षित राख्न यो कदम उठाएको जनाएको छ। एक अध्ययन अनुसार, १० देखि १५ वर्षका ९६ प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्ने र १० मध्ये ७ जनाले हिंसात्मक वा आत्महत्यासम्बन्धी सामग्री हेरेको पाइएपछि सरकारले यो निर्णय गरेको हो।
नयाँ कानुनको आलोचना टेक कम्पनीहरू र स्वयं किशोरकिशोरीहरूले गरेका छन्। प्रतिबन्ध कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी सम्बन्धित सामाजिक सञ्जाल कम्पनीहरूको हुनेछ, र कानुन उल्लङ्घन गर्ने कम्पनीहरूले जरिवाना तिर्नुपर्नेछ।
