प्रधानमन्त्री कार्की र प्रसाईंबीच छलफल, के हुन् मुख्य माग ?
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र ‘नागरिक बचाउ दल’का संरक्षक दुर्गा प्रसाईंबीच सिंहदरबारमा छलफल भइरहेको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक समेत रहेका प्रसाईंले सरकारसमक्ष प्रस्तुत गरेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्रीसँग छलफल भएको बताइएको छ।
छलफलमा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन्। प्रसाईं समूहले गत मङ्सिर ६ गते गृहमन्त्री अर्याललाई बुझाएको २७ बुँदे मागपत्रमा नेपालको राजनीतिक र संवैधानिक प्रणालीमा आधारभूत परिवर्तनको माग गरिएको छ।
ती मागहरूमध्ये मुख्य बुँदाहरू
संवैधानिक परिवर्तन: नेपालको वर्तमान संविधानलाई पूर्ण रूपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने।
शासकीय स्वरूप: राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने।
सांस्कृतिक/धार्मिक माग: राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने (धर्मनिरपेक्षताको नीति परिवर्तन गर्ने)।
राष्ट्रियता: विदेशी प्रभावबाट राष्ट्रियतालाई जोगाउने।
शान्ति तथा स्वतन्त्रता: सार्वजनिक शान्तिमा खलल पुर्याउने तत्त्वहरूको नियन्त्रण गर्ने र नागरिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने।
