अस्तित्वको लडाइँ, पुस्तान्तरण र अबको बाटो

आज देश कुन मोडमा उभिएको छ ? के यो प्राकृतिक वा जैविक विकासक्रममा आउने एउटा अनिवार्य चरण हो, जसलाई मानिसले आफ्नै विकास यात्रामा पार गर्नैपर्छ ? अथवा, यो हाम्रो लापरवाही, असंवेदनशीलता र चेतनाको कमीको तिखो परिणाम हो ? यस प्रश्नको उत्तर खोज्दा हामीले विगत, वर्तमान र भविष्यको लेखाजोखा गरेर मात्र समग्रतामा हेर्न सकिन्छ।

हुन त हाम्रो मनले मानोस् वा नमानोस्, आजको सम्पूर्ण राष्ट्रिय बहसको केन्द्र जेनजीले गरेको भदौ २३-२४ गतेको आन्दोलन र त्यसपछि बनेको वर्तमान अवस्था नै हो। यसअघि पनि धेरै मुद्दाहरू थिए। अन्तरविरोध, आक्रोश र राजनीतिक असन्तुलन- यी सबै क्रमशः बहसमा इतिहासका तहझैँ जोडिएर आइरहेका छन्।

तर पनि मुख्य प्रश्न यही छ- के कारणले भदौ २३-२४ गतेको विष्फोट नेपालमा भयो ? यसको प्रमुख दायित्व क-कसको काँधमा राखिदिने ? यसको गहिराइ र प्रमुख कारण बुझ्ने अनि पीडित पक्षलाई बुझाउने विषयमा हामी आज पनि अन्योलमै छौँ।

के साँच्चै एउटा पूर्वसरकारले सामाजिक सञ्जालका विदेशी सञ्चालकहरूमाथि नियमन गर्छु भन्नु मात्रै यसको कारण हो र ? के त्यही सञ्जालमाथिको नीतिगत कठोरताको विरुद्धमा लाग्न लाखौँ युवाको मनमा यस्तो आगो भड्किनुपर्ने थियो र ? शान्तिपूर्ण तरिकाले अवसर खोज्ने, सुशासन चाहने देशका सामान्य नागरिकहरूले हेर्दाहेर्दै यति धेरै आमाहरूको काख रित्तिनुपर्ने, परिवारले भयानक मूल्य चुकाउनुपर्ने अवस्था आउनु नै थियो र ?

दुःखद विडम्बना त यो छ कि- २४ गते के देशभरि एकाएक आगो सल्काउनुपर्थ्यो ? त्यो पनि पूर्ण तयारीका साथ कसरी आउन सके ? दुस्साहसी दुर्घटनाको परिणामपछि के आज जेन्जीले स्याबासी मात्र पाएका छन् त ? पार्टीहरू बिचको निम्न स्तरको कलह र झगडाबाट आजित जनता थिए नै, तर के आज यो आगजनीबाट जनता खुसी भए त ? तथाकथित आन्दोलनको श्रेय लिन एक पक्षले यसलाई समर्थन गर्नु अनि पीडित पक्षले यसको कठोर विरोध गर्दा अबको द्वन्द्वको परिणाम कस्तो होला ?

पूर्वीय सभ्यतामा भनिन्छ- जब दुई ब्रह्माण्डहरू टकराउँछन्, सत्य र असत्य दुवै घाइते हुन्छन्। आज यही सत्य हामीले देखिरहेका छौँ। दुवै पक्षका सत्यवादीहरूले पनि चोट पाएका छन्, दुवै पक्षका लापरवाहीहरूको भार पनि आम नागरिकले नै बोक्नुपरेको छ। आज हाम्रो सामुन्ने अदृश्य तर विराट लडाइँ छ; यो अब अवसरको मात्र होइन, अस्तित्वको पनि लडाइँ बनेको छ।

आजसम्मको इतिहास अनुगमन गर्दा मान्छेले अस्तित्वको लडाइँ कहिलेकाहीँ आफ्ना लागि लड्छ, कहिलेकाहीँ अरूका लागि लड्छ। तर गहिरो सत्य के हो भने, अरूका लागि लडेको जस्तो देखिए पनि मूल आशय भने सधैँ “आफ्नै अस्तित्व र परिवारको सुरक्षा” नै हुन्छ। यसै आधारमा पहिले आफ्नै अस्तित्व, सम्मान, स्वतन्त्रता र पहिचान बचाउन लड्नु नै जीवनका धेरै सङ्घर्षहरूको मूल कारण बनेका हुन्।

“म को हुँ ?”

“मलाई कसैले कुल्चिन खोज्दा म कहाँ उभिन्छु ?”

“मेरो मूल्य र मान्यता के हो त ?”

म सँग नजिक यस्तै प्रश्नहरूको सवाल–जवाफ नटुंगुन्जेल मान्छे लड्दै–उठ्दै–पुनः लड्दै निरन्तरता दिनु मानव सभ्यताको विकासक्रम हो। यद्यपि अर्थ र चेतनाको पहुँचमा संसारको तुलनामा विभिन्न देशमा भिन्नता भए पनि प्राणी विकासको प्रमुख सार भने यही हो।

स्वभावतः परिवार, मित्र, समाज र देशका लागि पनि मान्छे लड्छन्, तर त्यो पनि अन्ततः आफ्नो मनको तृप्ति, कर्तव्य, प्रेम र नैतिकता पूरा गर्नकै लागि हो। अर्थात्, अरूको रक्षा गर्दा उसको आफ्नो आत्मा सुरक्षित हुन्छ, सान्त्वना मिल्छ। यो कुरा भौतिकवादी र आध्यात्मिकवादी दुवै चिन्तनमा लागु हुन्छ। प्रकृतिमा आनन्द खोज्ने अथवा व्यक्ति पूजा गरेर सुरक्षा जसरी खोजे पनि, उद्देश्य आफूभित्रको अस्तित्वको खोजी नै हो। अनि मानिसको शान्तिपूर्वक बाँच्न खोज्ने अन्तरमनको चाहना हो।

अन्तरमनको आन्तरिक स्रोत नै त्यो व्यक्तिको मूल्य, सिद्धान्त र चेतना हो, जो उसको जीवनको अर्थ बन्न पुगेको हुन्छ। यही अर्थ जोगाउन मान्छे अरूको लागि मर्न, जल्न पनि तयार हुन्छ। यसैलाई विद्रोह, क्रान्ति र परिवर्तनको नाम दिएर अमरत्व कमाउन, कीर्तिमान राख्न खोज्छ। यस्तो खोज्नेहरू एकै काल, एकै समय टकरावमा आउन खोजे भने तथाकथित महामानवको अस्तित्वको ठुलो लडाइँ हुन्छ।

ब्रह्मा, विष्णु र महेश्वरबीच जब अस्तित्वको लडाइँ विराट बन्छ, परिणाम पनि स्वभावतः विराट नै हुन्छ। प्राणीहरूको बलिदान पनि त्यसैको प्रतिबिम्ब बन्दा विराट नै हुन्छ। सत्य–असत्य जताततै मिश्रित छ; अस्तित्व जोगाउने बहाना पनि जताततै उस्तै छ। तर आजको युगले यहीँनेर प्रश्न सोधिरहेको छ– समय चिन्न नसक्ने, जनताको मनोविज्ञान बुझ्न नसक्ने, समस्याको चिरफार गर्न नसक्ने नेतृत्व कसरी पार्टीको प्रमुख, कसरी समग्र राष्ट्रको अभिभावक बन्न सक्छ र ?

अनि नियतिको संहार निर्दोष जनताले थेग्नुपर्ने हो ? क्षेत्रीयताका आधारमा शक्ति बाँडफाँट, दूरदृष्टिभन्दा लोभलालचको खेल– मानिसको जीवन पनि पटक–पटक अड्किएझैँ अन्तरसङ्घर्षको बहानामा थुनिएको छ दक्षिण एसियामा। पूर्वीय सभ्यता नै वर्षौंदेखि अलमलिँदा हामी पछि परेका छौँ नै।

यस बन्धनबाट नेपालले छुटकारा कसरी पाउने ? म मेरो निष्कर्ष यसमै देख्छु– निष्पक्ष भएर, सत्यतर्फ उभिएर, भावनाभन्दा विवेकमाथि उभिएर बहस गर्न सके मात्र राष्ट्रको भविष्यको ढुङ्गा बीचबाटोमा पल्टिँदैन।

हो, आज देशमा जेन्जी र पुराना पुस्ता बिचको ‘ग्याप’ यसरी अगाडि बढेको छ, जो सम्हाल्न नसकिने द्वन्द्वको रूपमा भित्रभित्रै सल्किरहेको छ। यो वर्ग, यो समुदाय भन्ने कुरा हरायो। हर घर, हर व्यक्तिभित्र, हर पार्टीभित्र, देश–प्रदेश समाजभित्र, सिङ्गै देशभित्र विग्रह घुसेको छ। हामीलाई बुझ्न ढिला भएको हो।

हरेक कालखण्डमा सम्मानित नेतृत्व पनि परिस्थितिसँग सहजै पैठेजोरी खेल्न नसक्दा अपमानजनक पतन भोग्नुपरेका थुप्रै उदाहरण छन्। तर समस्या के थियो भने– आफूभित्रको अस्तित्व जोगाउनुपर्ने गलत धारणा, अनावश्यक भावनाको अन्धो प्रवाह, र आफ्नै ‘महत्त्व’ को बढाइचढाइ व्याख्याले पार्टीहरूलाई सङ्कटमा, र यो सङ्कटले देशलाई पनि पटक–पटक जटिल मोडमा पुर्‍याएको हो।

दूर–अतीतमा नजाऔँ, तत्कालीन समयमै बसेर कुरा गर्दा– गिरिजा–देउवाको टकराव, प्रचण्ड (पुष्पकमल दाहाल) को आफैँभित्रको द्वन्द्व, अन्तिम समयमा माधव नेपाल–केपी ओली टकराव। यी सबै वास्तविकतामा अस्तित्वको लडाइँ नै थिए। तर यी नेताहरूले जनताको, विशेषगरी युवापुस्ताको मनोविज्ञान बुझ्न सकेनन्। आफ्नो औचित्य पुष्टि गर्न खोज्दाको परिणाम– जेन्जी नाममा एउटा नयाँ प्रकारको विद्रोह जन्मियो देशमा। जो विगतका सबै विद्रोहभन्दा फरक थियो। सरकारलाई सत्ताच्युत गर्न ३६ घण्टा पनि लागेन। तर त्यसपछि आएको परिणाम सही अर्थमा अहिलेसम्म पनि सम्हाल्न सकिएको छैन।

महाभारतमा जस्तै वासुदेव कृष्णको सुदर्शन चक्र थाम्न नसकेर घमण्डी पौण्ड्रक वासुदेव स्वयं धराशायी भएझैँ… यदि दूषित मनसाय पुष्टि भए जेन्जीको नाममा नेपालमा भएको यो घुसपैठलाई इतिहासले पनि धिक्कार्नेछ। हो, किन आज नेपालमा अझ पनि गलत खेल खेलेर कसैले महाभारतका पात्र ‘शकुनि’ को भूमिका निभाएको छ ? यदि त्यस्तो छ भने, त्यो को हो ? कसको रणनीतिले राष्ट्रलाई यस्तो भुमरीमा हुल्यो ?

आज हामी सबै नेपालीको मुख्य चुनौती यही हो। प्रमुख समस्याको कारण पत्ता नलगाई एकआपसमा तथाकथित अस्तित्त्वको लडाइँ कहिलेसम्म ? महोदयहरूले चेत्नै पर्छ अब। आफैँले बनाएका मूल्य र मान्यतालाई फेरि आफैँले कुल्चेर अगाडि बढ्न खोजे आफैँले मागेको सुदर्शन चक्रले स्वयंलाई नकिच्ला भन्न सकिँदैन।

म परदेशीलाई देशको चिन्तनले भने नछोड्ने रहेछ। आखिर म पनि त अस्तित्वकै लागि कलम लिएर सहभागी भएको हुँ। विना कारण यसरी लेखिरहेको छैन पक्कै। मभित्र पनि उकुसमुकुस छ। आफूले चाहेजसरी देशको लागि केही गर्न नसके पनि आफ्नो अनुभव र आफ्नो तत्कालीन परिस्थितिमा बसेर गर्न सक्ने भूमिका भनेको आखिर कलम चलाउनु नै हो। यसैको आधारमा होला, देश सङ्कटमा पर्दा देशको पीडा भुलेर आरामले कहिल्यै सुतेर बस्न मनले मानेन। आज म पुनः राजनीतिक सुझाव सहितको जनचेतनाको लागि लेख लेख्दैछु यस आशयले– सत्य, विवेक र राष्ट्रिय हितलाई माथि राख्ने हो भने देश–शुभचिन्तकहरूको स्वर पनि सँगै उकास्नुपर्छ।

मेरो एउटा मान्यता छ– “बेमौसममा धेरै नबोलौँ, तर मौसममा बोल्न नछोडौँ।” यसको अर्थ– संवाद, छलफल, तर्कवितर्क जे जति छन् शान्तिपूर्ण तरिकाले ठाउँमा गरौँ, निष्कर्ष र निर्णयमा पुगेपछि केही समय त्यही आधारमा अघि बढौँ; फेरि पुनः समीक्षा गर्ने बेला र ठाउँ आएपछि मात्रै बहस दोहोर्‍याऔँ। नेपालमा भने उल्टै भयो– बेमौसमी बहस, जतापनि झगडा, विवाद अत्यधिक भयो। अनि जता पनि जहिले पनि पोख्दै हिँड्ने। यही गलत ढाँचाकै कारण, आजको जेन्जीको परिणाम जन्मिएको हो– यो सत्य बिर्सन हुँदैन सबैले।

नेपालको राजनीति आज वैचारिक सङ्कटमा त छैन। सिद्धान्तहरू आज पनि पर्याप्त छन् तर समस्या व्यवहार, शैली र व्यक्तिगत अहङ्कारको घर्षणमा छ। राजनीतिमा मतभेद स्वाभाविक हुन्छ, विद्रोह पनि आवश्यक पर्छ– तर सिद्धान्तमा एक, व्यक्तित्वमा दुई बन्ने रोग आज सबै दलमा फैलिएको छ। त्यसैले आजको मुख्य प्रश्नः “हाम्रा दलहरू यसरी कमजोर किन देखिन्छन् ?” उत्तर सरल छ– सिद्धान्त कमजोर भएर होइन, व्यक्तिको टकरावको कारण संस्थाहरू कमजोर भएका हुन्।

अब विभिन्न ठूला पार्टीको प्रसङ्ग क्रमैसँग हेरौँ:

काङ्ग्रेस: देशको सबैभन्दा पुरानो पार्टी, लोकतन्त्रसम्म आइपुग्ने आन्दोलनको प्रमुख हिस्सेदार नेपाली काङ्ग्रेस। निश्चय नै सम्मानयोग्य पार्टी हो। तर के काङ्ग्रेसले आजसम्म गरेका सबै निर्णय सही थिए ? समय कोल्टे फेर्छ, रूखले पात फेर्छ, मान्छेले जीवन फेर्छ भने अनि पुरानो नहटे नयाँ कसरी आउँछ ? रूखको आयु लामो हुन सक्छ, तर पात फेर्नु नै त्यसको दीर्घायुको सङ्केत हो। यदि पात नै फेरिएन भने, रूखको आयु सङ्कटतर्फ धकेलिन्छ। देशको सबैभन्दा पुरानो पार्टी नेपालको लोकतान्त्रिक यात्राको मुख्य हिस्सेदार नेपाली काङ्ग्रेस। यसको अर्थ उमेरको हदबन्दी सही हो भन्ने पक्षमा म छैन, यहाँ पनि आवश्यकताकै सिद्धान्त लागु होला।

आज मैले युट्युबमा विश्वप्रकाश शर्माको अन्तर्वार्ता सुनेँ। मन पर्यो। किन मन पर्यो ? मैले सुनेको आधारमा यसरी राख्छु– विश्वप्रकाश शर्मा र गगन थापा आज नेपाली काङ्ग्रेसको ‘अस्तित्व’ भनेर चिनिने दुई युवा नेतृत्व हुन्। विश्वप्रकाशले भने, “पार्टीमा सन्तुलन मिलाएर, सबै तहलाई एकीकृत गरेर लैजानु अत्यन्त चुनौतीपूर्ण काम हो। यदि सबै नेताहरूले केवल महत्वाकाङ्क्षालाई प्राथमिकता दिए भने, युवा आवाज अघि बढ्न सक्दैन।”

उनी थप्छन्, “गगन मभन्दा ४–५ वर्ष कान्छा हुन्। उपल्लो तहका नेताहरूसँग १५–२० वर्षको फरक छ। यदि समन्वय नै गर्नुपर्ने हो भने, म किन गगनसँग एक्यबद्ध नहुने ? किन समन्वयकारी भूमिका मैले ननिभाउने ?” मलाई मन परेको यही नै हो– पार्टी निर्माण, विकास र एकता गर्ने शैली। गगन पार्टी सभापति उम्मेदवार हुन्छन् भने, विश्वप्रकाश आफू पनि कुनै समय सभापति हुन्छु भन्ने आकाङ्क्षा राख्छन्, तर आजका दिन गगनलाई समर्थन गर्छन्।

यदि यी शब्दहरू केवल राजनीतिक चातुर्य होइन, व्यवहारमै सिद्ध भए, नेपाली काङ्ग्रेसको पुनर्गठित भविष्य अत्यन्त उज्ज्वल देखिन्छ। देशको जिम्मेवार पार्टी नेपाली काङ्ग्रेसको नीतिगत निर्णयले अरू दलहरूको भविष्य मात्र होइन, समग्र देश र जनताको भविष्य निर्माणमा ठुलो भूमिका खेल्छ। त्यसैले, नयाँ–पुराना पार्टीहरूसँग अनावश्यक आक्रमक प्रतिस्पर्धामा नलागी, पहिले आन्तरिक पार्टी पुनर्गठनमा ध्यान दिँदा राम्रो, महाधिवेशन सफल पार्दा राम्रो, र लोकतन्त्रलाई स्वस्थ आधारमा पुनः स्थापित गर्दा राम्रो हुन्छ। महाधिवेशन सफल रहोस्, शुभकामना छ।

प्रचण्ड : गणतन्त्र ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने नेता प्रचण्ड; उहाँको द्वन्द्व उहाँ स्वयंभित्र छ। उहाँको आफ्नै विपरीत स्वभाव र चरित्रगत टकरावबीचको द्वन्द्व चलेको छ। अस्थिर तर गतिशील नेताको रूपमा उहाँको पहिचान बनेको छ। सोच्नै नसकिएको, कल्पंनै नगरिएको– पूर्णरूपमा माओवादी पृष्ठभूमि बोकेको पार्टीलाई भत्काएर नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गर्नु, आफ्नै निकट असन्तुष्ट नेताहरूलाई प्रवाह नगरेर बाहिरका टुक्रा–टुक्रा समूहहरू जोडेर फेरि नयाँ संरचना उठाउनु– यी सबैले प्रचण्डको अद्भुत लचकता र जोखिम लिन सक्ने क्षमता प्रमाणित गर्छ।

यो व्यक्तिगत अस्तित्व जोगाउने दृष्टिले हेर्दा उहाँको राजनीतिक जीवनका लागि रणनीतिक हुन सक्छ। तर राष्ट्रको भविष्यका लागि यसरी बारम्बार दिशा बदलिरहने, संरचना भत्काएर पुनः जडान गर्ने यो विचलन लामो समयसम्म टिक्नु भने कठिन नै देखिन्छ।

त्यतिमात्र होइन, १७ हजार जनताको तिलाञ्जली र इतिहासको पीडाको मूल्य यति सहजै बिर्सन मिल्दैन। उही प्रश्न फेरि उठ्छ- “यो बलिदानको मूल्य के हो ?”

जेन्जी आन्दोलनपछि देखिएको उपद्रोबाट उम्किनका लागि उहाँले राजनीतिक पुनर्संयोजन खोज्नुभयो कि, वा नयाँ राजनीतिक इन्जिनियरिङ ? यो प्रश्नको उत्तर भविष्यले नै दिनेछ। तर एउटा कुरा भने स्पष्ट छ, प्रचण्ड र केपी ओली दुवैजना अस्तित्वको लडाइँमा नराम्ररी फसेका देखिन्छन्। अझै विडम्बना के छ भने– देशलाई आज पनि दुवै पात्रको आवश्यकता छ। उनीहरू सँगै हुँदा देशलाई आशा पनि मिल्यो, त्रास पनि बढ्यो; यही विरोधाभास ७–८ वर्ष निरन्तर चलिरह्यो। अब दुवैलाई अभिभावकीय भूमिकामा देख्न चाहन्छन् आजकल।

आज प्रचण्डको पार्टीभित्र पूर्व–एमाले पृष्ठभूमिका नेताहरूको ठुलो जमात छ। यो संरचना स्थिरतामा बदलिन सक्छ वा अस्थिरताको मतियार बन्न सक्छ, यो भने आगामी निर्णय र नैतिक सामर्थ्यमा निर्भर रहनेछ। देश सङ्कटमा छ, त्यसलाई निकास दिन प्रचण्डको भूमिकाले महत्त्व राख्छ। उहाँले देशलाई अस्थिरताको दिशामा होइन, निकास र समाधानको दिशामा लैजान सकून्। सबैले मान्ने सर्वमान्य नेता बन्न सकून्, यही छ शुभकामना।

जेन्जीको ‘टार्गेट’: आज देशमा जेन्जीको प्रमुख तारो नेकपा एमाले, नेपाली काङ्ग्रेस, केपी ओली र देउवा देखिन्छन्। करणी र कथनी दुवैलाई नकार्न सकिँदैन। तर राज्य संरचना हातमा लिएपछि आफ्ना अभिव्यक्ति, निर्णय र परिणामप्रति जिम्मेवार हुनैपर्छ।

केपी ओली सबैको केन्द्रमा उभिनुपर्ने क्षण थियो– राजनेता मात्र होइन, राष्ट्रको मेरुदण्ड बन्नुपर्ने समय। सगरमाथा जत्तिकै अग्लो विवेक, संयम र धैर्य देखाउनुपर्ने घडी थियो। तर भाग्यवश होस्, भूलवश होस् वा अनावश्यक दम्भ र अन्ध महत्त्वाकाङ्क्षाको असर होस्, अन्ततः परिस्थितिको सही आकलन गर्ने ती ‘ब्रह्मीय शक्ति’हरू दुर्बल साबित भए। र त्यसै क्षण, पहिलो चरणमा जे भयो– त्यो कुनै दृष्टिकोणको व्याख्या होइन, सतहमा देखिएको सत्य होः सुशासनको लागि नेपाली निहत्था युवाहरूको बलिदान। यसलाई नकार्नु इतिहासमा अर्को भूल हुनेछ।

त्यससँगै, राज्य सञ्चालन प्रणाली निष्क्रिय हुँदा केवल दुई दिनमै देशभरका महत्त्वपूर्ण संरचनामाथि, प्रमुख पार्टी पक्षका नेता, कार्यकर्ता, शुभचिन्तक र व्यवसायीमाथि छानी–छानी गरिएको व्यापक आक्रमण– यो केवल निहत्था, आत्मस्फूर्त जेन्जी बालबालिकाले गरेका थिए भन्ने मान्न सकिँदैन। जेन्जी स्वयंले समेत भन्छन्– “हाइज्याक भयो।”

यसो हुँदा, यसरी भन्दै गर्दा एक राजनेता बन्ने सम्भावना बोकेका नेताले, प्रमुख ठुलो दलका नेता, दलको प्रतिनिधि गरेर बनेका गृहमन्त्रीले निर्दोष भाइबहिनीप्रति देखाउनुपर्ने सदाशयता नदेखाउनु, बरु उल्टै जेन्जीलाई ललकार्ने– यो पीडादायी पनि हो र खतरनाक सङ्केत पनि। बेलैमा मत्थर गर्नुपर्छ। जेन्जीले पनि ‘ठीक गरे’ भन्ने होइन, हिंसात्मक हुनु हुन्थेन। भयो, यसको बदला देशभरि आगो लाग्नु हुन्थेन, त्यो पनि भयो। अब यसलाई निकास दिनु बुद्धिमानी हुन्छ।

जेन्जीको नाममा भएका सबै गतिविधि क्षम्य थिएनन्। अस्तित्वको लागि पीडितले प्रतिकारको लागि गर्नु अन्यथा होइन। तर तत्काल देशको प्रमुख जिम्मेवार व्यक्तित्वले एकपटक जेन्जीको भावना बुझेर, मनोविज्ञान बुझ्न सके आगामी बाटाहरू सहज हुने थिए, होइन र ?

खैर, यो त एउटा भावनात्मक सुझाव हो– मैदानमा उत्रिसकेका सिपाहीहरू इतर अथवा उत्तर पक्ष दुवैले नसुन्न सक्छन् अथवा के नै अर्थ रहला र… तर पनि यसबाट उम्कने बाटो खोज्नै पर्छ। कुरो यति हो– कतिन्जेल अस्तित्वको लडाइँमा मुलुकलाई राख्ने भन्ने हो।

एमाले: आज एमालेभित्र अस्तित्वको स्वरूप शक्ति, सम्मान र सन्तुलनको दृष्टिकोणसहित तीन थरी देखिएका छन् समग्रमा। १. शक्ति प्रदर्शन गरेर हात पार्न खोज्ने, २. आफ्नो सम्मान र अस्तित्वको लागि भिड्ने, र ३. जेन्जी भावनामा पार्टी र आन्दोलन सन्तुलित बनाएर अग्रगामी दिशामा लम्कने।

नेपालको सबैभन्दा सङ्गठित संरचना भएको दल एमाले हो। यसको इतिहास त्याग, अनुशासन र सङ्घर्षले भरिएको छ। यही कारण एमाले पनि कमजोर भए देश कमजोर हुन्छ। पार्टीको इतिहास, देशको भविष्य र जबजको औचित्य जोगाइराख्न ईश्वर पोखरेलले दह्रो उपस्थिति देखाएका छन्। वर्तमान अध्यक्ष दुई कार्यकालको मान्यता हटाएर पनि पुनः आफ्नो अस्तित्वको लागि अधुरा कामहरू पूरा गर्ने ध्येय उहाँको छ। उहाँको मात्र भन्दा पनि एकपक्षीय दह्रो रूपमा केपी ओलीलाई जसरी पनि ल्याउन सक्रिय छ। उहाँको व्यक्तिगत चाहना के होला ? जबकि ७० वर्ष र दुई कार्यकाल बनाउने रणनीतिकार उहाँकै पहलमा पास गरिए पनि, महत्त्वपूर्ण नेताहरूलाई यसै नियमको छडी लगाएर विस्थापित गरेको इतिहास छँदाछँदै आफैँले पुनः दुई वर्ष र ७० वर्ष दुवै हटाएर नेतृत्वमा रहन खोज्नु आवश्यकताको सिद्धान्त हो अथवा शक्ति र अस्तित्वको माग हो ? त्यो समयले भन्ला।

इतिहासको कालखण्डमा फरक–फरक मूल्याङ्कन गरिए पनि समग्रमा पार्टीको स्थापना कालदेखिकै केपी ओली र ईश्वर पोखरेल दुवै मनपर्ने नेता हुन्। परिस्थितिको उतारचढाव आफ्नो ठाउँमा छ। एकताका धेरै नेपालीले पनि मन पराएका नेता हुन् केपी ओली। पछिल्लो पटक पार्टीमा पनि सबैले मानेका थिए। अझै धेरैले माया गर्छन्। बाहिर पनि उहाँका आफ्ना छुट्टै फ्यान छन्। आजकल सङ्गठित विरोधी पनि मस्तै छन्।

केपी ओलीको अभिव्यक्तिको शैली, सामना गर्नुपर्ने चुनौती, चौतर्फी आक्रमण र फुटको संवेदनशील क्षणहरू– यी सबैले पार्टीलाई धेरै पटक परीक्षामा उभ्यायो। त्यस समयमा, आलोचना र विरोधबीच पनि नेतृत्वले सङ्गठन बचाउन, दिशा दिन र पार्टीको अस्तित्व जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको तथ्य नकार्न सकिँदैन।

सन्दर्भ कमरेड ईश्वर पोखरेल: केही समय म उहाँको मातहतमा बसेर सामान्य कर्मचारीको रूपमा काम गर्दा मलाई लाग्थ्यो– पार्टी निर्माण, सङ्गठन विस्तार र राजनीतिक संस्कार बसाल्ने काम ईश्वर पोखरेल र स्व. प्रदीप नेपालजस्ता नेताहरूको हातले नै देशव्यापी संरचना प्राप्त गरेको हो।

आजको दृष्टिमा, ईश्वर पोखरेल– सिद्धान्तनिष्ठ, अनुशासित, कम बोल्ने तर भित्रभित्रै ‘बोल्ड’ निर्णय लिन सक्ने, तिक्ष्ण र स्थिर नेतृत्वका रूपमा देखिन्छन्। ‘पानीट्याङ्की’ जस्ता अतिरञ्जित भ्रम फैलाई मिडियामा गरिएको भावनात्मक आक्रमणबाट उहाँलाई कमजोर देखाउने प्रयास भए पनि उहाँ निष्ठा र इमानदारीका आधारमा उभिएको नेतृत्व हुनुहुन्छ। यसलाई समयले प्रमाणित गरिरहेको छ।

पार्टीको प्रक्रिया जितोस्, सिद्धान्तको पद्धति जितोस्। उहाँले नै जित्नुपर्छ वा उहाँ नै अगाडि आऊन् भन्ने मेरो बहस होइन। चाहेको कुरा– एमालेले स्थापित मान्यता अनुसार स्वच्छ प्रतिस्पर्धा होस्, श्रेष्ठता परीक्षण होस्, पद्धति मजबुत होस्। एक सक्षम व्यक्तिलाई आफ्नै पार्टीभित्रैबाट उच्छृङ्खल शैलीमा अपमानित बनाइनु दुर्भाग्यपूर्ण छ। व्यक्तिगत जित–हारले होइन, सङ्गठन र प्रक्रियाको जितले देशलाई टिकाउँछ; मेरा शब्दको आशय यही मात्र हो।

अन्त्यमा, एमालेमा पनि दोस्रो, तेस्रो पुस्ता बहसमा उत्रेको छ। जेन्जीको भावना बुझेर बहस गरौँ। यसलाई नकारात्मक तरिकाले नउचालौँ। बहस गर्ने ‘कल्चर’ को संरक्षण र सम्मान गरौँ। एमाले अझ बलियो बन्छ, राष्ट्रका लागि अझ प्रभावकारी हुन्छ, र तपाईँहरूको भूमिकाले सङ्गठन अझ उचाइमा पुग्छ; यही हार्दिक शुभकामना क. केपी ओली, क. ईश्वर पोखरेल।

नयाँ पार्टीलाई एकमुष्ट: १०० भन्दा धेरै नयाँ पार्टी जन्मिनु आफैँमा कुनै उपलब्धि होइन। जसरी जन्मिएको बच्चा हुर्कने क्रममै सिकेर, ठोक्किएर, अनुभवको आगोमा खारिँदै जिम्मेवार नागरिक बन्छ; ठ्याक्कै त्यस्तै नयाँ सङ्गठनले पनि अन्तरसङ्घर्ष, अनुशासन, धैर्य र आत्म–समीक्षाको यात्राबाट गुज्रिएपछि मात्र परिपक्वता पाउँछ।

तर अहिले देखिँदै गएको अवस्था के छ ? हतारमा बढाइचढाइ गरेर, आवेगले मात्र पार्टी जन्माएर, आशाभन्दा बढी भ्रम वितरण गर्न थालिएको छ। यदि यिनीहरूको भूमिका केवल असन्तोषको दाम चुकाउने हो भने, नयाँ सबै शक्ति स्थिरताको स्रोत होइन– अस्थिरताका कारक बन्नेछन्।

पहिले नै देशमा पार्टीहरूको भीड छ। अनि फेरि प्रश्न उठ्छ, पार्टी धेरै हुनु किन आवश्यक छ ? मेरो बुझाइमा, नयाँहरू भित्रै पनि अस्तित्वको द्वन्द्व छ– कसैले मिडियामा बढी बोलेर ठुला देखिन खोज्छ, कसैले एक–दुई उज्यालो कार्यकाललाई आधार बनाएर महत्त्वाकाङ्क्षा उचाल्छ, कसैले स्वतन्त्र जनमतलाई ‘मात्र मेरो’ ठान्दै अरूको कुरा सुन्नै नचाहने बानी बसाल्छ। के यी सबै स्थिरताको तस्बिर हुन् र ? कदापि होइनन्।

नयाँ पार्टी खोल्नु अहिलेको आवश्यकता होइन। नयाँ सोच, नयाँ कार्यशैली, नयाँ संस्कार– यी सबै पुरानै पार्टीभित्र संस्थागत रूपमा स्थापित गर्न सकिए देशका लागि धेरै व्यावहारिक र दीर्घकालीन योगदान हुनेछ। नयाँ आउने नै हो भने एकीकृत भएर आउन सक्नुपर्छ, अस्थिरताको पसल थापेर होइन। सहकार्य गर्ने हिम्मत जुटाएर आउन सक्नुहोस्, नयाँ दल सबैलाई हार्दिक शुभकामना।

अन्त्यमा: जेन्जीको बलमा बनेको यो सरकारसँग चुनावको ठुलो परीक्षा छ। आलोचना गरेर मात्र होइन, आलोचनाबाटै सुधार गरेर ‘सन्तुलित’ शासन दिन सक्ने कि नसक्ने– यही नै समयको प्रश्न हो।

आज विचारभन्दा बढी शैलीको प्रश्न उठिरहेको छ। युवाहरू सोध्छन्– “किन बोल्न पाइँदैन ?” पुरानो पुस्ता भन्छ– “अनुशासन नै राजनीति हो।” दुवै आ–आफ्नै ठाउँमा सही। तर संवादमा विश्वासको पुल भने कमजोर छ। किन कमजोर छ ? किन मिलनबिन्दु फेला पार्न सकिँदैन ? किन सङ्गठन, नेतृत्व र युवा पुस्ताबीच दूरी बढ्दैछ ?

काङ्ग्रेसमा त्यस्तै छ, एमालेमा त्यस्तै (पक्षपातपूर्ण छ; कसैलाई जति अश्लील बोल्न पनि छुट, कसैलाई जायज कुरा राख्न छुट छैन, सामाजिक सञ्जालबाट छद्म रूपमा अपमान गर्न पनि छुट छ), प्रचण्डको माओवादीमा त्यस्तै (नयाँ बनेपछि थाहा छैन), रास्वपामा त्यस्तै, अरू साना नयाँमा पनि त्यस्तै छ। अर्थात् यो समस्या नेपालीपनको मौलिक समस्या पो हो कि ?

अब सबैले अहङ्कार होइन, हठको राजनीति होइन, राष्ट्रहितलाई मूलमन्त्र ठानेर सहकार्य गर्दै अगाडि बढ्नुपर्छ। यो नै स्थायी हुन्छ। तर अपमान गरेर, गलत तरिकाले प्रतिकार गरेर हासिल गर्ने शक्ति भनेको अस्थायी हुन्छ।

परदेशमा बसे पनि म पूरै नेपाली भावनामा अडिएको छु। मेरो यो लेख कुनै पक्षको विरोध वा समर्थन होइन। यो केवल एक नेपाली मनको पीडा, आशा र चिन्तन हो। यहाँसम्म पढ्न समय दिनुभएकोमा आभारी छु। समयसँग बितेको चिन्ता होइन, भोलिको नयाँ नेपालको चिन्तनमै मेरा शब्द तानिन्छन्। परदेशमा बसेर पनि मन देशमै अडिएको छ। मेरा शब्दहरू यतिमै टुङ्ग्याउने अनुमति चाहन्छु।

-पोखरा, हालः जापान


प्रतिक्रिया

One thought on “अस्तित्वको लडाइँ, पुस्तान्तरण र अबको बाटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *