मधेस प्रदेशले पायो नयाँ मुख्यमन्त्री
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार यादवलाई औपचारिक रूपमा मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
यादवले सात दलीय गठबन्धनको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनले प्रदेशसभाका ७७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री यादवलाई समर्थन गर्ने दलहरूमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा)-नेपाल, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), र नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेशसभा सदस्यहरू रहेका छन् ।
यसैबीच, नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेशको बेथिति हटाउने आफ्नो पहिलो काम हुने बताएका छन्। प्रदेश बेथितिमा रहेको उल्लेख गर्दै उनले पहिलो काम नै थितिमा ल्याएर सुशासन कायम गर्ने हुने बताए।
