क्यानाडामा नेपाली विद्यार्थीको निधन

अन्टारियो। क्यानाडाको अन्टारियो प्रान्तस्थित ड्राइडेनमा एक २१ वर्षीय नेपाली विद्यार्थीको असामयिक निधन भएको खबरले नेपाली समुदाय स्तब्ध भएको छ। बुटवलका स्थायी बासिन्दा शिरीष पोखरेलको निधन भएको एनआरएन क्यानाडाले जनाएको हो।

एक वर्षअघि टोरन्टोमा आफ्नो पढाइ पूरा गरेका शिरीष ड्राइडेनको वालमार्टमा पूर्णकालीन काम गर्दै थिए। उनी आफ्नो परिवारका एकमात्र छोरा भएको उल्लेख गर्दै उनका लागि सहयोग आह्वान गरिएको ‘गो फण्ड पेज’मा उनको निधनले परिवारलाई ठूलो चोट पुगेको जनाइएको छ।

यसैबीच, गैरआवासीय नेपाली संघ, क्यानाडाले शिरीषको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि नेपाल पठाउन सहयोगको याचना गरेको छ।

शव नेपाल पठाउँदा करिब १२ हजार क्यानेडियन डलर खर्च लाग्ने अनुमान गरिएको छ। सामुदायिक सहयोगबिना यति खर्च जुटाउन असम्भव रहेको संघले जनाएको छ। त्यसैले सहयोग जुटाउनका लागि ‘गोफन्डमी’मा अभियान सुरु गरिएको हो।

एनआरएन क्यानाडाका अध्यक्ष जगन सापकोटाले भने ‘यो त्रासदीबाट प्रभावित परिवारका लागि मृतक छोराको पार्थिव शरीर नेपाल पठाउन सहयोग आवश्यक छ। ठूलो होस् वा सानो, तपाईंहरूको कुनै पनि सहयोगले ठूलो अर्थ राख्नेछ।’

आफन्तसँग एउटै घरमा बस्ने उनलाई बिहान आफ्नै कोठामा मृत अवस्थामा पाइएको बताइएको छ। हाल मृककको पार्थिव शरीर पोष्टमोर्टमका लागि टोरन्टो ल्याइएको अध्यक्ष सापकोटाले जनाए। ‘मृत्युका कारण बारे जानकारीका पोष्टमोर्टमको रिपोर्ट नै पर्खनु पर्छ’, उनले भने।

एनआरएन, क्यानाडाले सम्पूर्ण समुदायलाई सहयोगका लागि अपिल गरेको छ। अध्यक्ष सापकोटाले नेपाली समुदायमा यस्ता घटना बारम्बार हुन थालेकाले कसरी सहयोग गर्न सकिन्छ भनेर दीर्घकालिन उपायका बारेमा विमर्श गर्ने समय आएको पनि उल्लेख गरे।

-साभारः नेपाल टच | क्यानाडा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *