दशकअघि हराएको विमान अझै भेटिएन, फेरि नयाँ खोज
२३९ जना यात्रु बोकेको मलेसिया एयरलाइन्सको विमान ‘एमएच३७०’ बेपत्ता भएको एक दशकभन्दा बढी समयपछि त्यसको भग्नावशेषको खोजी अभियान पुनः सुरु हुने भएको छ। मलेसियाका अधिकारीहरूले आगामी डिसेम्बर ३० बाट नयाँ खोजी अभियान सुरु गरिने जानकारी दिएका छन्।
खोजीको यो नयाँ अभियान ५५ दिनसम्म चल्नेछ। यो अभियान गत मार्चमा सुरु भए पनि खराब मौसमका कारण स्थगित गरिएको थियो।
यातायात मन्त्रालयले यो प्रगतिले पीडित परिवारहरूलाई निष्कर्षमा पुर्याउने मलेसियाको प्रतिबद्धतालाई जोड दिएको बताएको छ।
सन् २०१४ को मार्च ८ मा क्वालालम्पुरबाट बेइजिङ जाँदै गरेको बोइङ ७७७ विमान एमएच३७० उडेको एक घण्टाभन्दा कम समयमै हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्कविहीन भएको थियो।
यो घटना उड्डयन इतिहासकै सबैभन्दा ठूलो र लामो समयसम्म चलेको खोज अभियान भए पनि अझै पनि सबैभन्दा ठूलो रहस्यमध्ये एक बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
‘नो फाइन्ड, नो फी’ सम्झौता
अन्वेषण फर्म ‘ओसन इन्फिनिटी’ ले हालको खोजीको नेतृत्व गरिरहेको छ। यो खोजी ‘नो फाइन्ड, नो फी’ सम्झौता अन्तर्गत भइरहेको छ। यसको अर्थ हो- नभेटिए शुल्क नलाग्ने। यदि भग्नावशेष फेला परेमा यस फर्मले ७० मिलियन डलर (झन्डै रु. ९ अर्ब ३० करोड) प्राप्त गर्ने मलेसियाका यातायात मन्त्री लोक सियु फुकले यसअघि बताएका थिए।
अनुसन्धानकर्ताहरूले सन् २०१८ मा भनेका थिए, ‘भग्नावशेष फेला परेपछि मात्र जवाफ निश्चित हुन सक्छ।’ यो नयाँ खोज अभियानले पीडित परिवारहरूलाई अन्ततः न्याय र घटनाको सत्य दिलाउने आशा गरिएको छ।
