जयनेपाल प्रतिष्ठानद्वारा पुरस्कार घोषणा

इलाम। जयनेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान इलामले यस वर्ष प्रदान गरिने विभिन्न विधाका सम्मान तथा पुरस्कारहरूको घोषणा गरेको छ।

प्रतिष्ठानले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ८ जना विशिष्ट व्यक्तित्व तथा प्रतिभाहरूलाई नगदराशिसहित सम्मान गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानका सचिव विमल वैद्यद्वारा जारी विज्ञप्तिअनुसार आगामी मंसिर २७ गते इलाममा आयोजना हुने एक विशेष समारोहका बीच यी पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।

प्रतिष्ठानले घोषणा गरेअनुसार यस वर्षको सर्वाधिक राशिको ‘पूर्णटुङ्ग आदर्श नागरिक सम्मान’ अग्रज व्यक्तित्व कुलबहादुर गुरुङलाई प्रदान गरिने भएको छ। यो सम्मानको साथमा ७७ हजार ७७७ रुपैयाँ पनि प्रदान गरिनेछ।

यस्तै, समाजसेवा तर्फको ‘गजराज खम्बा सिंह जानुकादेवी आदर्श समाजसेवी सम्मान’ खगेन्द्र प्रसाद ढकाललाई प्रदान गर्ने निर्णय भएको छ। उनलाई ५१ हजार १०१ रुपैयाँसहित सम्मान गरिनेछ।

प्रतिष्ठानले साहित्य तथा सिर्जना तर्फको ‘कृष्ण विनोद इलाम सिर्जना सम्मान’ (५१ हजार १०१ रुपैयाँ) गायक कुवेर राईलाई र कृषि क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएबापत ‘उदयरत्न सावित्री उत्कृष्ट कृषक सम्मान’ (५० हजार १०१ रुपैयाँ) टेकप्रसाद खनाललाई प्रदान गर्ने भएको छ।

शिक्षा र शिक्षण पेसामा समर्पित व्यक्तित्वहरूलाई पनि प्रतिष्ठानले समेटेको छ। जसअनुसार जगत बहादुर लिलादेवी देवकुमारी शिक्षक सम्मान (३३ हजार ३३३ रुपैयाँ) उमाराम प्रसाईलाई प्रदान गरिने भएको छ।

भृकुटी शिवमाया लक्ष्मण अग्रणी महिला सम्मान (३३ हजार ३३३ रुपैयाँ) चन्द्रकला राईलाई तथा रामहरि नारायण प्रसाद शिक्षा सम्मान (१५ हजार १०१ रुपैयाँ) छत्र तामाङलाई प्रदान गरिने भएको छ।

त्यसैगरी, विद्यार्थी वर्गलाई प्रोत्साहन गर्ने उद्देश्यले राखिएको ‘मधुजनक उत्कृष्ट विद्यार्थी सम्मान’ आदर्श माध्यमिक विद्यालय इलामका समिक्स राउतलाई प्रदान गरिनेछ। उनलई १० हजार १०१ रुपैयाँ र सम्मान पत्र प्रदान गरिने सचिव वैद्यले जानकारी दिए।

प्रत्येक वर्ष प्रदान गरिँदै आएको यो सम्मानले जिल्लामा विभिन्न क्षेत्रमा क्रियाशील प्रतिभाहरूलाई हौसला प्रदान गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *