बीपीमा अख्तियार : ७६ करोडको भवन अढाई अर्ब पुर्याउने ‘खेल’
धरान। देशकै प्रतिष्ठित स्वास्थ्य संस्था मानिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान फेरि एकपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेको छ।
अनियमितताका फाइलहरूको चाङ लागेपछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको विशेष टोलीले प्रतिष्ठानमा छापा मार्दै महत्त्वपूर्ण दस्तावेजहरू कब्जामा लिएको छ।
प्रतिष्ठानभित्र मौलाएको बेथिति र भ्रष्टाचारको गन्ध बाहिर आएपछि आयोगका अधिकृत अकिल बस्नेत नेतृत्वको टोलीले ‘एक्सन’ सुरु गरेको हो।
अख्तियारको छापाको मुख्य केन्द्रबिन्दुमा प्रतिष्ठानको मातृशिशु भवन निर्माण प्रकरण रहेको छ। यो प्रकरण कुनै सामान्य भ्रष्टाचार मात्र नभई ‘आर्थिक जादु’ जस्तै देखिन्छ।
सुरुमा ७६ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी स्वीकृत भएको उक्त भवनको लागत अस्वाभाविक रूपमा बढाएर २ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी पुर्याइएको भेटिएको छ।
सार्वजनिक खरिद नियमावलीलाई लत्याउँदै, बिना कानुनी प्रक्रिया पदाधिकारीहरूले मनोमानी ढंगले अर्बौं रकम बढाएको उजुरी परेपछि अख्तियारले निर्माण टेन्डर, डिजाइन, र बिल भुक्तानीका फाइलहरू जफत गरेको छ। अब यी फाइलमाथि प्राविधिक इन्जिनियरहरूको टोलीले मसिनो गरी अध्ययन गर्ने तयारी गरेको छ।
डाक्टर साबको ‘डबल रोल’ र फार्मेसीको लुट
प्रतिष्ठानको बेथिति भवनमा मात्र सीमित छैन। अख्तियारको सुई अब प्रतिष्ठानका ‘हाइ–प्रोफाइल’ डाक्टरहरूतर्फ पनि सोझिएको छ।
प्रतिष्ठानमा पूर्णकालीन जागिर खाएका चिकित्सकले बाहिर निजी क्लिनिक चलाउन नपाउने स्पष्ट नियम छ। तर, नियमलाई धोती लगाउँदै मेडिसिन विभाग प्रमुख डा. रबिन मास्के सहितका वरिष्ठ चिकित्सकहरूले धरानको बुद्धचोकमा खुलेआम निजी क्लिनिक चलाइरहेको उजुरी अख्तियारमा पुगेको छ। अख्तियारले यसको पनि प्रमाण संकलन सुरु गरेको छ।
उता, अस्पतालको आफ्नै फार्मेसीमा पनि लुटतन्त्र मच्चिएको आशंका छ। औषधि खरिद, बिलिङ, र स्टक व्यवस्थापनमा ठूलो चलखेल भएको उजुरीपछि अख्तियारले फार्मेसी शाखाका सम्पूर्ण पुराना फाइलहरू नियन्त्रणमा लिएको छ।
पूर्व उपकुलपतिहरू पनि तानिए
अख्तियारको यो अपरेसनले वर्तमान पदाधिकारीलाई मात्र नभई पुराना ‘शक्तिशाली’ पदाधिकारीलाई पनि झस्काएको छ।
प्रतिष्ठानका पूर्व उपकुलपतिद्वय डा. ज्ञानेन्द्र गिरी र डा. बलभद्र प्रसाद दासको कार्यकालमा भएका विवादास्पद निर्णय, निर्माण आयोजना र औषधि खरिदका फाइलहरू पनि अख्तियारले नियन्त्रणमा लिएको छ। नोटशिटदेखि लेखापरीक्षण विवरणसम्मका कागजात जफत भएपछि पुरानो कार्यकालको हिसाबकिताब पनि अब खुल्ने देखिएको छ।
एकाएक अख्तियारको टोली फाइल बोकेर निस्किएपछि प्रतिष्ठानमा खैलाबैला मच्चिएको छ। यसैबीच, प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाले अख्तियारको अनुसन्धानमा आफूहरूले पूर्ण सहयोग गरेको प्रतिक्रिया दिएका छन्। ‘उहाँहरू आउनुभयो, आवश्यक कागजात माग्नुभयो, हामीले उपलब्ध गरायौं,’ संग्रौलाले भने।
अख्तियार इटहरीका सूचना अधिकारी रोशन अर्यालका अनुसार अब जफत गरिएका कागजातहरूको विस्तृत अनुसन्धानपछि दोषी देखिएकाहरू उपर विशेष अदालतमा मुद्दा दायर गरिनेछ।
