घट्यो चिया निर्यात

विराटनगर। पूर्वी नाका झापाको काँकडभिट्टाबाट निर्यात हुने चियाको व्यापारमा चालु आर्थिक वर्षको प्रथम चौमासिक (साउनदेखि कात्तिकसम्म) मा गिरावट आएको छ। गत वर्षको तुलनामा यस अवधिमा ८३ करोड रुपैयाँभन्दा बढीले चिया निर्यात घटेको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आर्थिक वर्षको प्रथम चौमासिकमा जम्मा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ।

परिमाणका हिसाबले यो अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ पठाइएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम निर्यात हो।

गत आर्थिक वर्षको प्रथम चौमासिकमा पूर्वी नाकाबाट दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो।

चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा ८३ करोड १७ लाख ६२ हजार ले चिया निर्यात कम भएको छ।

नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने चिया निर्यातमा आएको यो ठूलो गिरावटले समग्र पूर्वी क्षेत्रको व्यापारमा चिन्ता थपेको छ।

विशेषगरी, चिया किसान र उद्योगहरूले भारतीय बजारमा गुणस्तरको उचित मूल्य र सहज पहुँच पाउन नसक्दा निर्यातमा कमी आएको विज्ञहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *