देश-विदेशका दर्शक तान्दै ‘परान’
काठमाडौँ । नेपाली सिने जगतको गौरवको विषय बन्दै फिल्म ‘परान’ ले अन्तर्राष्ट्रिय बक्स अफिसमा ऐतिहासिक सफलता कायम गरेको छ। उत्कृष्ट कथावस्तु, मार्मिक भावनात्मक प्रस्तुति र सशक्त सामाजिक सन्देशका कारण यो फिल्मले विश्वका धेरै देशहरूमा अभूतपूर्व सकारात्मक प्रतिक्रिया बटुलेको छ।
खासगरी अष्ट्रेलियाको बक्स अफिसमा फिल्म ‘परान’ले ६० लाख रुपैयाँभन्दा बढी कमाउन सफल भएको छ। यो कलेक्सनले फिल्मलाई अन्तर्राष्ट्रिय बक्स अफिसमा यस वर्षकै सबैभन्दा सफल नेपाली फिल्महरूमध्ये एकका रूपमा स्थापित गरेको छ।
अष्ट्रेलियाली वितरण व्यवस्थापनका अनुसार, अहिले पनि अष्ट्रेलियाका प्रतिष्ठित मल्टीप्लेक्सहरूमा यो फिल्म दैनिक रूपमा प्रदर्शन भइरहेको छ। अष्ट्रेलियाका प्रमुख राज्यहरू (एनएसडब्लु, भिक्टोरिया, एसीटी, टास्मेनिया, एडेलेड, पर्थ, क्वीन्सल्यान्ड र डार्विन) का धेरैजसो हलहरूमा ‘परान’ को शो जारी छ। दर्शकहरूको निरन्तर बढ्दो उत्साहका कारण नमस्ते इन्टरटेन्मेन्ट अष्ट्रेलियाले समयमै टिकट बुक गर्न आग्रह गरेको छ।
अष्ट्रेलियामा मात्र होइन, अन्तर्राष्ट्रिय वितरक सेभेनसिज सिनेमाले दिएको जानकारी अनुसार विश्वका निम्न देशहरूमा पनि ‘परान’ ले दर्शकहरूको भरपूर माया पाइरहेको छ: अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, कोरिया, पोर्चुगल, फिनल्यान्ड, माल्टा र बेलायत।
यी सबै देशहरूमा दर्शकको उत्साह, समर्थन र प्रेमका कारण अतिरिक्त शो थप्ने माग अत्यधिक बढेको वितरकले जनाएको छ।
अन्तर्राष्ट्रिय दर्शकबाट प्राप्त यो विशाल समर्थनले फिल्मका लेखक तथा निर्देशक दीपक प्रसाद आचार्य हर्षित भएका छन्। उनले अन्तर्राष्ट्रिय दर्शक, वितरक र मिडियासहित सबैप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो खुशी बाँडेका छन्।
