बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन

काठमाडौँ। बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। भारतीय चलचित्र क्षेत्रमा ६ दशकभन्दा लामो समय बिताएका लोकप्रिय अभिनेताको निधनले बलिउड शोकमा डुबेको छ।

हेमा मालिनी र ईशा देओल शमशानघाटमा सोमबार दिउँसो उनकी श्रीमती तथा अभिनेत्री हेमा मालिनी र छोरी ईशा देओललाई शमशानघाट बाहिर देखिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। खराब स्वास्थ्यका कारण अस्पताल भर्ना भएका धर्मेन्द्रलाई दुई साताअघि मात्र हेमा मालिनीले घर ल्याएकी थिइन्।

स्वास्थ्य अवस्था र अस्पताल बसाइ धर्मेन्द्रलाई गत साता मुम्बईको ब्रिच क्यान्डी अस्पतालबाट डिस्चार्ज गरिएको थियो र उनी घरमै स्वास्थ्यलाभ गरिरहेका थिए। त्यसबेला डा. प्रतित समदानीले भनेका थिए, ‘धर्मेन्द्रलाई आज बिहान ७ः३० बजे डिस्चार्ज गरिएको छ। उनको परिवारले घरमै हेरचाह गरिरहेको छ।’ उनी अस्पतालमा हुँदा शाहरुख खान, सलमान खान र आमिर खान लगायतका कलाकारहरू उनको स्वास्थ्य अवस्था बुझ्न पुगेको ‘हिन्दुस्तान टाइम्स’ ले उल्लेख गरेको छ।

६ दशक लामो अभिनय यात्रामा धर्मेन्द्रले थुप्रै अविष्मरणीय चलचित्रहरू दिएका छन्। ‘आई मिलन की बेला’, ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘शोले’, ‘जुग्नु’, ‘यादों की बारात’, ‘धर्म वीर’ जस्ता सुपरहिट फिल्महरूमा उनको अभिनय सधैं स्मरणीय रहनेछ।

उनी अब अगस्त्य नन्दाको मुख्य भूमिका रहेको वार ड्रामा चलचित्र ‘इक्किस’ मा अन्तिम पटक पर्दामा देखिनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *