अरिहन्त जुट मिल्सको आगलागी ३ घण्टाको प्रयासमा नियन्त्रण
सुनसरी। सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरमा रहेको अरिहन्त जुट मिल्समा आइतबार साँझ लागेको भीषण आगलागी करिब तीन घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । साँझ ५ बजेबाट अचानक सुरु भएको आगलागी नियन्त्रणमा लिन ८ वटा दमकलसहित ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।
प्रहरीका अनुसार आगलागीले मिल्सभित्र रहेका कच्चा पदार्थ, तेलजन्य पदार्थ तथा अन्य ज्वलनशील सामग्रीहरू जलेर ध्वस्त भएका छन्। आगो नियन्त्रणका लागि विराटनगर महानगरपालिकाका २ सहित दुहबी, देवानगञ्ज, रामधुनी, सुन्दरहरैँचा, बराहक्षेत्र र धरान उपमहानगरपालिकाका दमकलहरू परिचालन गरिएको थियो ।
इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर युवराज थापा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दुहबीका सशस्त्र इन्स्पेक्टर माधवप्रसाद ढुंगेलको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको हो ।
आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगोले ठूलो क्षति पुर्याए पनि क्षतिको यकिन विवरण सङ्कलनको काम भइरहेको र पूर्ण विवरण आउन समय लाग्ने प्रहरीले जानकारी दिएको छ ।
