एमाले, ‘जेन-जी’ को हुरी र निषेधको राजनीति : अबको बाटो कता ?

नेकपा (एमाले) केवल एउटा राजनीतिक पार्टी होइन, यो नेपाली राजनीतिको एउटा विशिष्ट स्कुल हो। क. मदन भण्डारीको दूरदर्शिता, क. मनमोहन अधिकारीको निष्ठा र क. सीपी मैनाली जस्ता नेताहरूको जुझारुपन- यी ‘त्रिशक्ति’ को जगमा उभिएको एमाले आफैमा बहुआयामिक धरातल, सोच र संकल्पको पर्याय हो।

तर, इतिहासको यो भव्य विरासत बोकेको पार्टीलाई आज चौतर्फी घेराबन्दीमा पारिएको छ। हिजोदेखि नै एमालेलाई धराशायी बनाउन तल्लीन प्रतिक्रियावादी शक्तिहरू आज अझ सशक्त र सूक्ष्म रूपमा सक्रिय भएका छन्। यस्तो गम्भीर मोडमा हामी कहाँ चुक्यौँ र अबको बाटो कस्तो हुनुपर्छ ? निर्मम समीक्षा आवश्यक छ।

व्यक्ति होइन, नीति–प्रधान पार्टी

एमाले कुनै अमुक व्यक्तिको प्राइभेट कम्पनी होइन, यो नीति–प्रधान पार्टी हो। यसको असली शक्ति भनेका पदाधिकारी होइनन्; ती लाखौँ सङ्गठित कार्यकर्ता, शुभचिन्तक र जनस्तरको त्यो विश्वास हो, जसले आँधीहुरीमा पनि पार्टीलाई ढल्न दिएन।

तर, दुःखको कुरा- पछिल्ला वर्षहरूमा नेतृत्व तहमा देखिएको शक्ति–सङ्घर्षले कार्यकर्ताको मनोबलमा प्रहार गरेको छ। क. ओली, क. झलनाथ र क. माधवबीचको सन्तुलन बिग्रँदा पार्टी ‘ब्रह्मका तीन रूप’ जस्तै तीनतिर तानिन पुग्यो। घरका मूलीहरूको झगडाले परिवार विभाजन भयो, जसको फाइदा बाहिरी शक्तिले उठाए। पार्टीभित्रको असन्तुष्टिलाई बहाना बनाएर पुराना योद्धाहरू बाहिरिए, जुन इतिहासकै एउटा दुखद अध्याय हो।

‘जेन–जी’ को हुरी र अराजकताको सङ्केत

तमाम आन्तरिक किचलोका बाबजुद एमाले आज पनि कार्यकर्ताको बलमा उभिएकै छ। तर, अहिले यो पार्टी र समग्र देशसामु एउटा नयाँ चुनौती खडा भएको छ: ‘जेन-जी’ को नाममा देखिएको अनियन्त्रित आवेग।

सिमरामा हालै देखिएको हिंसात्मक गतिविधि र २२/२३ गतेका घटनाक्रमले देश कतै पुनः अराजकताको भुमरीमा फस्ने त होइन भन्ने गम्भीर प्रश्न उब्जाएको छ। के यो मात्र युवाहरूको आक्रोश हो? वा, एमाले–कांग्रेस समीकरणको कमजोरीमा टेकेर देशलाई अस्थिरतामा धकेल्ने योजनाबद्ध षड्यन्त्र?

झट्ट हेर्दा ‘जेन्जी’ को नाममा देखिएको यो असन्तुलित हुरीले एमालेलाई निमिट्यान्न पार्ने रणनीति बोकेको जस्तो देखिन्छ। लोकतन्त्रमा आलोचना स्वागतयोग्य हुन्छ, तर ‘निषेधको राजनीति’ कुनै पनि हालतमा समाधान हुन सक्दैन। यो प्रवृत्तिले एमालेलाई मात्र होइन, देशको लोकतान्त्रिक भविष्यलाई नै अन्धकारमय बनाउनेछ।

‘कस्टिभेषन’ र विकासको कसीमा एमाले

हो, भ्रष्टाचार र दलभित्रको गुटबन्दी (कस्टिभेषन) क्षम्य विषय होइनन्। यसको निर्मम उपचार हुनै पर्छ। तर, एउटा झ्यालको सिसा फुट्यो भन्दैमा बनेको घर नै भत्काउनु कति जायज हुन्छ?

एमालेले सुरु गरेका विकास–निर्माणका कामहरू, सामाजिक सुरक्षाका कार्यक्रमहरू र राष्ट्रियताको पक्षमा लिएका अडानहरूको वस्तुगत मूल्याङ्कन खै? एमालेलाई गाली गर्ने भीडमा विकासको जग बसालेको सत्यलाई ओझेलमा पार्ने प्रयास भइरहेको छ। यदि हामीले सत्य र तथ्यलाई छुट्याउन सकेनौँ भने, भोलिको पुस्ताले हामीलाई धिक्कार्नेछ।

घरको झगडा र मदनको मन्त्र

हाम्रो सबैभन्दा ठूलो कमजोरी ‘आन्तरिक व्यवस्थापन’ मा देखियो। राजनीति भनेको मानवकल्याणका लागि नीति बनाउने माध्यम हो। घरभित्र (पार्टीभित्र) आन्तरिक सङ्घर्ष हुन्छ, हुनुपर्छ। तर, त्यो सङ्घर्ष परिवारका सदस्यबीचको मनमुटाव जस्तो हो, जसलाई बाहिर छताछुल्ल पारेर तमासा देखाउनु हुँदैन।

जब हामी “घरको सदस्यलाई दुश्मन” र “बाहिरी दुश्मनलाई मित्र” देख्ने मायावी भ्रममा पर्छौं, तब पतन सुरु हुन्छ। आज मलाई यही कुराले पिरोलेको छ। १९ वर्षको उमेरमा जुन ‘जनताको बहुदलीय जनवाद’ (जबज) र मदन भण्डारीको व्यक्तित्वले मलाई आकर्षित गरेको थियो, त्यो विश्वासको दियो आज पनि निभेको छैन।

अबको प्रतिकार : बौद्धिक र सौहार्दपूर्ण

अबको लडाइँ ढुङ्गा-मुढाको होइन, विचारको हो। निषेधको संस्कृतिलाई ‘बौद्धिक प्रतिकार’ ले जित्नुपर्छ।

१. आन्तरिक बहस: पार्टीभित्र घनीभूत छलफल गरौँ। बहसका ‘थिम’ बनाएर मन्थन गरौँ। असहमतिलाई शत्रुतामा बदलिन नदिऔँ।

२. वैचारिक गतिशीलता: मदन भण्डारीको तार्किक शक्ति र बहस शैलीलाई आजको सन्दर्भमा प्रयोग गरौँ। गालीगलौज होइन, तर्कले जितौँ।

३. जनतासँगको सामिप्य: एमालेको शक्ति सिंहदरबारमा होइन, बस्ती–बस्तीमा छ। फेरि एकपटक अनुशासित, विनयी र करुणामयी भएर जनताको घरदैलोमा पुगौँ।

अन्त्यमा, देशको रक्षा गर्ने, शान्ति–सुव्यवस्था कायम गर्ने र उद्यमशील वर्गदेखि सर्वसाधारणसम्मको हित सोच्ने ल्याकत भएको पार्टी एमाले नै हो। आउनुहोस्, एमालेको मूल मर्म र मूल्य–मान्यताबाट कत्ति पनि विचलित नभई, अपार जनमाया समेट्न सक्ने एउटा सुसंस्कृत र शक्तिशाली पार्टी निर्माणमा जुटौँ।

निषेधको राजनीति मुर्दावाद ! सुसंस्कृत लोकतन्त्र जिन्दावाद !!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *