जागिरको अवसर : विराटनगर आईसीपीका लागि १९ कर्मचारी माग
विराटनगर। नेपाल इन्टरमोडल यातायात विकास समितिले विराटनगर एकीकृत जाँच चौकी (आइसीपी) को आन्तरिक व्यवस्थापन तथा सञ्चालनका लागि करार सेवामा कर्मचारी पदपूर्ति गर्ने सूचना जारी गरेको छ ।
नयाँ सञ्चालक कम्पनी छनोट नहुँदासम्म एकीकृत जाँच चौकीको दैनिक कार्य सञ्चालन समितिको व्यवस्थापनबाटै गर्नुपर्ने भएकाले अस्थायी दरबन्दीका पदहरू खुला प्रतियोगितामार्फत भर्ना गर्न आवेदन माग गरिएको हो।
बिहीबार प्रकाशित विज्ञापनअनुसार कुल १९ पदका लागि दरखास्त आह्वान गरिएको छ । यसमा पाँचौँ तहका ४ वरिष्ठ सहायक, चौथो तहका ३ फोरमेन, ११ कार्यालय सहायक, एक प्लम्बर र एक हलुका सवारी चालक–फोर्कलिफ्ट अपरेटर समावेश छन्।
सहायक तहका आवेदकका लागि उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने समितिले उल्लेख गरेको छ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले मङ्सिर १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

