बंगलादेशकी पूर्वप्रधानमन्त्री हसीनालाई मृत्युदण्डको सजाय सुनाइयो

काठमाडौँ। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनालाई मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै त्यहाँको एक विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। गत वर्ष जुलाई-अगस्टमा भएको विशाल आन्दोलनलाई दमन गर्ने क्रममा उनले मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको तीन सदस्यीय इजलासले सोमबार यो ऐतिहासिक फैसला सुनाएको हो।

फैसलाको घोषणा बंगलादेशी टेलिभिजनहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो। न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजूमदारले ४५३ पृष्ठको विस्तृत फैसलालाई ६ भागमा सुनाएका थिए।

अदालतले भारतमा निर्वासनमा रहेकी हसीनाको उपस्थितिबिनै यो मुद्दाको सुनुवाइ गरेको थियो। अभियोजनपत्रमा हसीनामाथि करिब १४ सयको हत्या र प्रदर्शनमा २५ हजारभन्दा बढी घाइते बनाइएको आरोप लगाइएको थियो।

हसीनासँगै बंगलादेशका पूर्व गृहमन्त्री असदुज्जमां खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। यस्तै, पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल ममुनलाई ५ वर्ष कैद सजाय तोकिएको छ। अदालतले मृत्युदण्डको सजाय पाएका हसीना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न समेत आदेश दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *