प्रहरी कार्यालय आगजनी : इलाम र पाँचथरका युवा पक्राउ
झापा। इलाका प्रहरी कार्यालय दमकमा तोडफोड तथा आगजनी गरेको आरोपमा इलामको चुलाचुली गाउँपालिकाका दुई युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका-३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल छन्। दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इप्रका दमकले जनाएको छ।
गत भदौ २४ गते इप्रका दमकको तोडफोड र आगजनीका घटनामा उनीहरू संलग्न भएको आरोप छ। यी दुईसहित इप्रका दमकमा भएको आक्रमणका घटनामा पक्राउ पर्नेको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुई दिनअघि पाँचथरको मिक्लाजुङ–५ स्थायी ठेगाना भई हाल दमक–५ मा बस्दै आएका २१ वर्षीय साजन लुहागुनलाई तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिई आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालिएको थियो।
प्रहरीका अनुसार, अहिलेसम्म दमकबाट चार जना र बिर्तामोडबाट छ जना गरी कूल १० जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
