तोरीबारीको भगवती दिव्य धाममा श्रद्धालुको आकर्षण
इलाम । इलाम नगरपालिका वडा ५, तोरीबारीमा रहेको ‘जय माता बाराही भगवती आमा’ को स्थान हाल एक सिद्धस्थलको रूपमा परिचित हुँदै गएको छ।
करिब आठ वर्षअघि स्थानीय नारायणप्रसाद पौडेलले यहाँ दुर्गा सप्तशती चण्डी पाठ लगाइरहँदा पाठको परायण हुने समयमा माताको शिलामा पाथीभरा भगवती आमाको ठूलो मूर्ति प्रत्यक्ष दर्शन मिलेको स्थानीय बताउँछन्।
यो स्थानको महिमालाई पुष्टि गर्दै पाथिभरा भगवती आमाको दिव्य धाम ताप्लेजुङका मुख्य पुजारी गुरु डिल्ली आचार्य स्वयं यहाँ आएर एक रात बास बसी चण्डी पाठ र पूजा गरेका थिए। यस घटनाले यस स्थानप्रतिको धार्मिक आस्थालाई थप गहिरो बनाएको छ।
यस दिव्य धाममा विशेषगरी नवरात्रको समयमा ९ दिनसम्म चण्डी पाठ, पूजा र हवन हुने गरेको छ। अन्य समयमा पनि नियमित पूजा–आरधना हुने गर्दछ। स्थानीय नारायणप्रसाद पौडेलले माताप्रति अटल भक्ति, प्रेम र आस्थाका साथ यस स्थलको पूजा–आरधना, ध्यान, साधना र संरक्षण गर्दै आएका छन्।
यो सिद्धस्थलमा टाढा–टाढाबाट विभिन्न धामी, झाँक्री, माता–पिता र भक्तजनहरू दर्शनका लागि आउने गर्छन्। उनीहरूमध्ये कतिपय भक्तजनहरू १ किलोमिटर टाढाबाटै काम्दै र बक्दै आउने गरेको स्थानीयको भनाइ छ।
यद्यपि, यहाँ भएका काम्ने वा बक्ने जस्ता घटनाहरूलाई भने सामाजिक सञ्जालमा हाल्न रोक लगाइएको छ, जसलाई स्थानीयहरूले मर्यादा कायम राख्ने र व्यक्तिगत आस्थाको विषय मान्दै आएका छन्।
यस स्थानमा आएर काम्ने वा बक्ने सबैलाई माताले भक्ति, विश्वास, प्रेम, आस्था र असल आचरणमा लाग्ने शक्ति प्रदान गरेको विश्वास गरिन्छ।
दिन प्रतिदिन यो स्थान साक्षात् भगवती बस्ने शिलाको रूपमा परिचित हुँदै गएको छ। स्थानीय भक्तजनहरूले यस सिद्धस्थलको थप संरक्षण र सम्वर्द्धनका लागि भगवानका सच्चा भक्त, ज्ञानी, ध्यानी र धार्मिक विद्वाननहरूको ध्यानाकर्षणको अपेक्षा गरेका छन्।
यहाँ अवस्थित माताको कृपाले मनोकामना पूरा हुँदै आएको छ भन्ने जनविश्वास रहेकाले पनि दर्शन गर्न आउनेहरुको संख्या बढिरहेको पौडेलको भनाइ छ।
