अग्रज पत्रकार विष्णु निष्ठुरीलाई ‘जनआन्दोलन स्वर्ण पदक’
काठमाडौँ। गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वरिष्ठ पत्रकार विष्णु निष्ठुरीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको छ।
लोकतान्त्रिक आन्दोलनका योद्धासमेत रहेका पत्रकार निष्ठुरीलाई सोमबार गणेशमान सिंहको १११ औँ जन्मजयन्ती तथा जनआन्दोलन स्वर्ण पदक वितरण समारोहमा सो पदक प्रदान गरिएको हो।
त्यस अवसरमा पत्रकार निष्ठुरीले नेपाली इतिहास र लोकतन्त्र प्राप्तिका लागि नेपाली पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसका संस्थापक नेता तथा लौहपुरुष गणेशमान सिंहको योगदान नेपाली जनताको स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय चेतनाको यात्रामा सदैव अमर रहने बताए।
उनले सिंहको नेतृत्वको प्रशंसा गर्दै भने, ‘गणेशमान सिंहले नेपाली समाजलाई स्वतन्त्रताको बाटो देखाए। उहाँको योगदान केवल कांग्रेस पार्टीका लागि मात्रै होइन, सम्पूर्ण नेपाली जनताको लागि थियो। उहाँले देखाएको मार्ग अनुशरण गर्नसके मात्रै देश साँचो अर्थमा समृद्ध र लोकतान्त्रिक बन्न सक्छ।’
गणेशमान सिंहको नेतृत्व, साहस र राष्ट्रप्रेमकै कारण आफू राजनीतिमा प्रवेश गरेको यादवले स्मरण गरे। उनले भने, ‘गणेशमान सिंहले कहिल्यै पद वा शक्ति खोजेनन्। उहाँले पार्टी र देशको हितलाई सधैँ व्यक्तिगत स्वार्थभन्दा माथि राखे। त्यही नै उहाँको महानता हो।’
यादवले विसं २०१७ को घटनापछि नेपाली कांग्रेसको नेतृत्वमा बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको योगदानले देशमा लोकतन्त्रको नयाँ आधार तयार भएको जिकिर गरे। उनले थपे, ‘हामीलाई लोकतन्त्रप्रेमी बनाउने प्रेरणा दिने काम बिपी, गणेशमान र कृष्णप्रसादबाट आएको हो। काङ्ग्रेसका नेता कार्यकर्ताहरूको पहिचान नै उहाँहरूको त्याग र आदर्शबाट बनेको हो।’
