दर्शकको मन जित्दै ‘परान’
काठमाडौँ । रिलिजको केही दिनमै दर्शकको मन जित्न सफल नेपाली चलचित्र ‘परान’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै देशभरका हलहरूमा दर्शकको उल्लेखनीय भिड लागेको छ र दोस्रो हप्तामा पनि दर्शक उपस्थिति कायम राख्न सफल भएको छ।
‘परान’ नेपाली समाजको पारिवारिक परिवेशमा आधारित एक हृदयस्पर्शी कथा हो। चलचित्रमा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बुबाको भावनात्मक यात्रालाई यथार्थ रूपले चित्रण गरिएको छ। यसले बाबुआमाले बुढेसकालमा सामीप्य चाहँदा सन्तानले आफ्नै आकाङ्क्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने भावनात्मक दूरीलाई शक्तिशाली रूपमा प्रस्तुत गरेको छ।
विशेषगरी सामाजिक सञ्जालमा दर्शकहरूले फिल्मको कथावस्तु, अभिनय र भावनात्मक प्रस्तुतीको खुलेर प्रशंसा गरिरहेका छन्। चलचित्रले पाएको यही उत्साहका माझ के एल दुगड ग्रुप परिवारले शुक्रबार साँझ सुन्धारास्थित सिभिल मलमा ‘परान’ को विशेष कर्पोरेट शो आयोजना गरेको छ। यस शोमा ग्रुपले आफ्ना कर्मचारीहरूलाई सामूहिक रूपमा चलचित्र हेर्ने वातावरण मिलाएको थियो।
नेपाली फिल्म उद्योगमा अभिनयका ‘भीष्मपितामह’ भनेर परिचित वरिष्ठ अभिनेता नीर शाह यस चलचित्रमा शीर्ष भूमिकामा छन्। लामो समयपछि उनको मुख्य भूमिकामा पुनरागमन भएकाले पनि ‘परान’ मा दर्शकको विशेष चासो र आकर्षण बढेको छ। सबै उमेरका दर्शकका लागि सन्देशमूलक र भावनात्मक कथा बोकेको यो चलचित्रले पारिवारिक दर्शकहरूबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।
के एल दुगड ग्रुपका अनुसार, यस किसिमका सामूहिक सांस्कृतिक क्रियाकलापहरूले कर्मचारीहरूबीच आपसी सम्बन्ध, आत्मीयता र सकारात्मक उर्जा सुदृढ गर्न मद्दत गर्छन्। ग्रुपले सांस्कृतिक अभिवृद्धि र मनोरञ्जनलाई संस्थागत रूपमा प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याएको छ।
