नेपथ्य अब जापानमा: तीन सहरमा शृङ्खलाबद्ध कन्सर्ट

काठमाडौँ । नेपाली लोकरक ब्यान्ड नेपथ्यले दुई वर्षपछि जापानमा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ। ब्यान्डले जापानका तीन महत्त्वपूर्ण सहरहरू नागोया, टोकियो र ओसाकामा आफ्ना चर्चित गीतहरू गुन्जाउने तयारी गरिरहेको छ।

ब्यान्ड बामे सर्दाका दिनदेखि नै अनेक तीता–मीठा घटनाहरू जोडिएको जापानमा नेपथ्यको यो शृङ्खलाबद्ध प्रस्तुति नागोया सहरबाट थालनी हुनेछ। नागोयाको ‘नागोया लाइभ्स’ सभागृहमा नोभेम्बर १३ बिहीबार ब्यान्ड पहिलोपटक प्रस्तुत हुँदैछ।

पाँच दिनपछि ब्यान्ड जापानको राजधानी टोकियोमा पुग्नेछ। नोभेम्बर १८ मङ्गलबार अन्तर्राष्ट्रिय पहिचान बनाएको प्रसिद्ध ‘टोकियो डोम सिटी हल’ मा नेपथ्य दोस्रो पटक उभिने भएको छ। यसअघि सात वर्षपहिले पनि यसै हलमा नेपथ्यको कन्सर्ट भएको थियो।

टोकियोको भब्य प्रस्तुति सकेको ठीक छ दिनपछि नोभेम्बर २४ मा ब्यान्ड ओसाका सहरका दर्शकसामु प्रस्तुत हुनेछ। ओसाकाका लागि नेपथ्यले त्यहाँको ‘जेप ओसाका बे साइड’ लाई चयन गरेको छ।

तीन दशकभन्दा लामो साङ्गीतिक यात्रामा नेपथ्यले जापानसँगका धेरै सम्झनाहरू बोकेको ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ बताउँछन्। उनी भन्छन्, “मीठा यादहरूबाहेक अढाई दशकअघि हाम्रो ब्यान्ड त्यसै मुलुकमा पुगेर टुक्रिएको तीतो अनुभव पनि हामीसँग छ।” यद्यपि, जुनसुकै परिस्थितिमा पुग्दा पनि जापानका दर्शकले नेपथ्यलाई सदैव न्यानो स्वागत गर्दै आएको अमृत स्मरण गर्छन्।

आर्थिक उपार्जन वा उच्च शिक्षाका लागि नेपालीहरूको आकर्षक गन्तव्य बनेको जापानमा पुगेका नेपाली तन्नेरीहरूले नेपाली लोक भाकामा आधारित रक सङ्गीत प्रस्तुत गर्ने नेपथ्यका गीतहरू मन पराउँदै आएका छन्। यसै कारण नेपथ्यको उपस्थितिलाई नेपाली दर्शक–श्रोताबाहेक जापानीबाट पनि उत्तिकै स्नेह र उपस्थिति मिल्दै आएको छ।

नेपथ्यको जापान यात्रालाई यसपटक ‘भिजोनिया’ समूहले संयोजन गरेको छ। भिजोनियाका प्रमुख सुभाष लामिछानेका अनुसार कन्सर्टलाई भव्य बनाउन पूरा क्षमतामा काम भइरहेको छ र टिकट बिक्री पनि तीव्र गतिमा भइरहेको छ।

नेपालयका किरणकृष्ण श्रेष्ठले दिएको जानकारीअनुसार मञ्चमा प्रस्तुत हुने ६ कलाकारका अलावा व्यवस्थापन र प्राविधिक फाँटका ८ थप सदस्यसहितको १४ सदस्यीय टोली जापान पुग्दै छ। जापानका मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।

दर्शकको सुविधालाई ध्यानमा राख्दै जापानका कन्सर्टहरूका लागि www.nepathya.com.np मार्फत अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *