कोशी प्रदेश सभाको नयाँ ठेगाना कटहरी

विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी अधिवेशन मोरङको कटहरीस्थित एकीकृत कृषि थोक बजारको भवनमा सञ्चालन गर्ने निर्णय गरेको छ।

जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवन ध्वस्त भएपछि विकल्पको खोजीमा रहेको प्रदेश सरकारले उक्त भवनलाई अस्थायी रूपमा प्रयोग गर्ने स्वीकृति दिएको हो।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले चाँडै प्रदेश सभाको अधिवेशन बोलाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले यो निर्णय गरेको जानकारी दिएका छन्। उक्त भवनलाई सभा सञ्चालनका लागि तयार गर्न आवश्यक मर्मत सम्भार र निर्माणको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिइएको छ।

यसैबीच, मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारबाट आएका तीन जना सहसचिवहरूलाई कोशी प्रदेशका महत्वपूर्ण मन्त्रालयहरूमा पदस्थापन गर्ने निर्णय गरेको छ।

सङ्घीय सरकारका सहसचिव उद्धवप्रसाद रिजाललाई सामाजिक विकास मन्त्रालयको रिक्त प्रदेश सचिवमा पदस्थापन गरिएको छ। त्यस्तै, सहसचिव पुष्करप्रसाद पोख्रेलले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन् भने सहसचिव कोषहरी निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ। निरौलालाई भने प्रदेश योजना आयोगको सचिवको समेत कामकाज गर्ने जिम्मेवारी तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *