नेपाल प्रहरीको नेतृत्वमा दानबहादुर कार्की
काठमाडौँ। लामो प्रतिस्पर्धापछि अन्ततः नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङले कात्तिक २६ गते ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाश लिँदै छन्। खापुङले गत भदौ १९ गतेदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए। उनको अवकाशसँगै खाली भएको पदमा कार्कीको नियुक्ति भएको हो।
नवनियुक्त आईजीपी कार्की, २०८२ वैशाखमा खापुङसँगै एआईजीमा बढुवा भएका थिए। वरीयता सूचीमा उनी पहिलो नम्बरमा थिए। आईजीपीको दौडमा उनीसँगै उनका व्याचमेट एआईजीद्वय राजन अधिकारी र मनोजकुमार केसी तथा एआईजी सिद्धी बिक्रम शाह मुख्य प्रतिस्पर्धी थिए।
२०५४ चैत १८ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कार्कीले प्रहरी ऐन र नियमावलीमा कुनै फेरबदल नभएमा २०८४ चैत १७ गतेसम्म नेपाल प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन्।
