पोखरा रंगशालामा नेपथ्य : खेलकुद र सङ्गीतको अनुपम साँझ
तस्बिरः दिपित राज
पोखरा । आसन्न एनपीएल क्रिकेट प्रतियोगिताका लागि स्थानीय टोली ‘पोखरा एभेन्जर्स’ सँग सहकार्य गर्दै नेपालको चर्चित लोकरक ब्यान्ड नेपथ्यले शुक्रबार पोखरा रंगशालामा भव्य कन्सर्ट प्रस्तुत गरेको छ। ब्यान्डको गृहनगरमा आयोजित यो विशाल सांगीतिक साँझमा खेलकुद र सङ्गीतको अनुपम मिश्रण देखियो।
करिब १० हजारभन्दा बढी दर्शक अटाउने गरी पोखरा रंगशालाभित्र निर्धारण गरिएको कन्सर्ट क्षेत्र खचाखच भरिएको थियो। टिकट अघिल्लो दिन नै बिक्री भइसकेकाले पर्वत र लमजुङजस्ता दूरदराजबाट आएका दर्शकहरू टिकटको प्रतीक्षामा बाहिर सडकमा निराश बनेर बसेका थिए।
पर्वतबाट छोरासहित आएका राजन गुरुङले भने, “टिकट सकिइसकेको रहेछ। आयोजकले थप सय टिकट जारी गर्छौं भनेकाले पर्खेर बसेका छौं।”
बेलुकी ६ बजे तोकिएको समयमै कन्सर्ट सुरु भयो। ब्यान्डले पहिलो गीतको रूपमा ‘हो रामा रामा’ प्रस्तुत गरेको थियो। कन्सर्ट अवधिभर ब्यान्डका मुख्य गायक अमृत गुरुङले आफ्नो गृहनगरका रैथाने अनुभव, नेपाली भाषा र संस्कृतिको जगेर्नाका साथै समसामयिक विषयमा आफ्ना विचारहरू राखे। उनले पोखरेली क्रिकेट टोली ‘पोखरा एभेन्जर्स’ र समग्र खेलकुद क्षेत्रकै पक्षमा विचार राख्दा दर्शकले तालीले साथ दिएका थिए।
तन्नेरी पुस्ताले भरिएको कन्सर्ट मैदानमा अमृतले हालैको जेन–जी आन्दोलन लाई सम्बोधन गर्दै भने, “परिवर्तनका लागि पृष्ठभूमि तयार भइसकेपछि अब संयमित भएर अगाडिको बाटो तय गर्न म सबैलाई अनुरोध गर्छु।” उनले सबैलाई मतदाता नामावलीमा नाम लेखाउन र आगामी चुनावमा अत्यधिक सहभागितासहित मुलुकको भाग्यरेखा कोर्न आग्रह गरे।
सदाबहार धुनमा पोखरेली दर्शक
नेपथ्यले ‘आँगनैभरि’ देखि ‘छेक्यो छेक्यो’ जस्ता ब्यान्ड स्थापनाताकाका गीतहरूदेखि लिएर ‘चरी मर्यो सिसैको गोलीले’, ‘जोमसोमे बजार’ जस्ता सदाबहार लोकप्रिय गीतहरू प्रस्तुत गर्यो। श्रोताले अत्यधिक मन पराएका ‘रेशम’, ‘तालको पानी’ अनि देशभक्तिपूर्ण ‘रातो र चन्द्रसुर्जे’ र ‘गाउँगाउँबाट उठ’ सम्मका गीतमा पोखरेली दर्शक झुमेका थिए।
कन्सर्ट हेर्न हास्य अभिनेता जितु नेपाल र सन्दीप क्षेत्री तथा लेखक कुमार नगरकोटी लगायत काठमाडौँबाटै पोखरा पुगेका थिए। सपरिवार कन्सर्ट हेर्न आएका जितु नेपालले नाच्दानाच्दै प्रतिक्रिया दिए, “बबाल रमाइलो भयो, नेपथ्यलाई धन्यवाद।” लेखक नगरकोटीले नेपथ्यको जीवनी पुस्तक पढ्नेबित्तिकै कन्सर्ट हेर्ने इच्छा जागेको र यो उनको पहिलो अनुभव सोचेभन्दा धेरै रमाइलो भएको बताए। कन्सर्टमा नेपालको माटोको रक्षाका लागि विभिन्न मुलुकबाट आइपुगेका कृषि विज्ञहरूको ठूलै समूह पनि सहभागी थियो।
मुलुकका प्रायः ठूला कन्सर्टहरूमा ध्वनि व्यवस्थापन हेर्दै आएका प्राविधिक शिविर शाक्यले जेन–जी आन्दोलनपछि धेरै कन्सर्ट रद्द भइरहेको अवस्थामा पोखराको यो विशाल प्रस्तुति आफैँमा ‘मानक’ बनेको बताए। कन्सर्टको मञ्चमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।
