माईखोला किनारमा शव, बेग्लाबेग्लै स्थानमा ४ जना मृत फेला
सांकेतिक तस्बिर
विराटनगर। इलामको माईखोला किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। यस्तै, पछिल्लो २४ घण्टाभित्र मोरङ र बाँके जिल्लामा पनि अन्य तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
इलामको माई नगरपालिका–९ बस्ने ५० वर्षीय अर्जुन मगर बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । देउमाई नगरपालिका–७, सिउरेनीस्थित माईखोलाको किनार उनी मृत फेला परेका हुन् ।
यस्तै, मोरङका दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, मोरङले दुवै घटनाको अनुसन्धान थालेको छ।
ग्रामथान गाउँपालिका–७, साधुटोलस्थित पैनीमा धनपालथान गाउँपालिका–५ बस्ने ५६ वर्षीय दुर्गा प्रसाद खवास बिहीबार मृत भेटिएका हुन्।
यस्तै, मिक्लाजुङ गाउँपालिका–६, कत्लेस्थित सडक छेउमा उर्लाबारी नगरपालिका–१ बस्ने ४२ वर्षीय मनकुमार तामाङ बुधबार मृत अवस्थामा फेला परेका थिए।
प्रहरीका अनुसार बाँकेको खजुरा गाउँपालिका–२, एल गाउँमा बस्ने २८ वर्षीय लोग बहादुर सुनार आफ्नै घरभित्र बुधबार मृत भेटिएका छन्।
सबै घटनाहरूको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
