नेकपाको ९ बुँदे प्रस्ताव : दाहाल संयोजक, नेपाल सहसंयोजक
काठमाडौँ। विभिन्न कम्युनिस्ट दलहरूबीच एकता भई नयाँ राजनीतिक शक्तिको रूपमा ‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) घोषणा भएको छ। बुधबार काठमाडौँमा आयोजित एकता राष्ट्रिय सम्मेलनले सर्वसम्मत रूपमा पार्टीको नेतृत्व चयन गर्नुका साथै ९ बुँदे प्रस्ताव पारित गरेको छ।
सम्मेलनले पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाललाई सर्वसम्मत चयन गरेको छ। नेतृत्व चयनका लागि नेता महेन्द्र राय यादवले प्रस्ताव राखेका थिए, जसलाई हलले ताली बजाएर अनुमोदन गरेको थियो।
९ बुँदे प्रस्ताव पारित
सम्मेलनले नेता वर्षमान पुनले प्रस्तुत गरेका ९ बुँदे प्रस्तावहरूलाई पनि ताली बजाएर अनुमोदन गरेको छ। यी प्रस्तावहरूमा पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’, नयाँ चुनाव चिह्न र एकता प्रक्रियामा सहभागी पार्टीहरूको भावी कार्यदिशासम्बन्धी निर्णयहरू समावेश छन्।
पारित प्रस्ताव
१. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ।
२. चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ।
३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुने निर्णय गरिएको छ।
४. एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन सम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको छ।
५. केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।
६. विगतका प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन् ।
७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहनेछ।
८. नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र पारित गरिएको छ ।
९. नेपाली कम्युनिष्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ ।
