सपनामा देखेको ‘भगवती शिला’ : भक्ति र विवाद
इलामको माई भगवती राजदुवाली क्षेत्र अहिले एउटा अनौठो आस्था र समर्पणको कथाले चर्चामा छ । इलाम नगरपालिका-४, धारापानीकी एक बहिनीले सपनामा देखेको एउटा शिला (ढुङ्गा) लाई लिएर उनको गहिरो धार्मिक भक्ति र स्थानीय समुदायबीचको व्यवस्थापनमा विवाद देखिएको हो ।
ती बहिनी धेरै समयदेखि बिरामी अवस्थामै पाथीभरा भगवती माताप्रति गहिरो प्रेम, आस्था र विश्वास राख्दै आएकी थिइन् । निरन्तरको भक्ति र प्रार्थनाकै क्रममा उनले सपनामा माई खोलाको राजदुवाली क्षेत्रमा एक शिलाको झझल्को देखिन् ।
सपनाको यो अलौकिक अनुभवबारे उनले आफन्तहरूलाई बताइन् । त्यसपछि उनीहरूको पहलमा सो शिलालाई उत्खनन् गरी घरमा ल्याएर मन्दिर स्थापना गर्ने र नित्य पूजा-पाठ गर्ने अटोट गरियो ।
सुरुमा सबैले उनको अठोटलाई सम्मान गरे । तर, शिलालाई आफ्नो पायक पर्ने स्थानमा लैजाने तयारी गर्दा स्थानीय समुदायको अर्को समूहले विरोध गरेको कुरा सार्वजनिक भयो । उनीहरूको माग छ- शिलालाई सोही स्थानमा राखेर मन्दिर बनाउनुपर्छ ।
यसरी, पाथीभरा माताको नाममा प्रकट भएको शिलालाई कहाँ राख्ने भन्ने विषयमा दुई पक्षबीच विवाद चुलिएको छ ।
यस्ता धार्मिक आस्थाका विषयमा विवाद गर्नुभन्दा सबैले सत्य प्रेम, भक्ति, आस्था र विश्वासलाई शिरोपर गर्नुपर्ने आवाज उठेको छ ।
धार्मिक अगुवाहरू भन्छन्, ‘देवताको नाममा विवाद गर्नुभन्दा उदारता र त्यागलाई अङ्गाल्नुपर्छ । भगवान् स्वयम् यो जगतका मालिक हुनुहुन्छ ।’ विवादमा फस्नुभन्दा दुवै समूहले पाथीभरा भगवतीको नाममा त्यागको भाव देखाउनु बुद्धिमानी हुन्छ भन्ने मत पनि धेरैको छ । यसमा दुई उपाय छन्–
कि त शिला लैजान दिने,
कि त शिला भएको ठाउँमै मिलेर पूजा–अर्चना गर्ने ।
जसले यस्तो अवस्थामा त्याग, सेवा र भक्ति देखाउँछ, त्यही व्यक्ति वा समूह नै हाम्रो मौलिक संस्कार, संस्कृति र आस्था जगेर्ना गर्न सकारात्मक छ भन्दा अत्युक्ति नहोला ।
