‘अब चुनावभन्दा दायाँबायाँ सोच्नु हुन्न’
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको वातावरण बनाउने सरकारी प्रयासका क्रममा आज नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग भेट गरे। प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा विभिन्न पक्षहरूसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्याल डा. यादवको ललितपुर, बागडोलस्थित निवासमै पुगे।
भेटका क्रममा गृहमन्त्री अर्यालले डा. यादवको स्वास्थ्य अवस्था र भदौ २३ र २४ गतेको घटनाले पारेको असरबारे जानकारी लिएका थिए।
गृहमन्त्री अर्यालले जेन-जी आन्दोलनले दिएको कार्यादेशअनुसार सरकारी सेवामा पारदर्शिता बढाउनेदेखि लिएर निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे जानकारी दिए। उनले सरकारले निर्वाचनलाई ‘अर्जुनदृष्टि’ मानेर काम गरिरहेको बताउँदै पूर्वराष्ट्रपति यादवलाई समाजका सबै पक्षलाई निर्वाचनतर्फ उन्मुख हुने गरी प्रेरित गर्न आग्रह पनि गरे।
डा. यादवले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनका लागि वातावरण बनाउन गरिरहेको प्रयासको सह्राहना गरे। पूर्वप्रधानन्यायाधीशको नेतृत्व र स्वतन्त्र व्यक्तिहरू सामेल भएकाले यस सरकारले निष्पक्ष चुनाव गराउन सक्ने विश्वास व्यक्त गरे।
उनले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले प्रतिकूल समयमा पनि सफलतापूर्वक चुनाव गराएको स्मरण गरे। त्यस बेला आफू राष्ट्रपतिको भूमिकामा रहँदा देखे/भोगेका अनुभव सुनाउँदै उनले अहिले पनि यो तटस्थ सरकार भएकाले सबै पक्षले विश्वास गर्नुपर्ने बताए।
डा. यादवले भने, ‘यो संविधान र लोकतान्त्रिक प्रणालीलाई बचाउँदै अनिश्चयको अन्त्य गर्न निर्वाचनबाहेक अर्को कुनै सुरक्षित बाटो नै छैन। तपाईंहरू मेहनतसाथ लाग्नुभएको छ, यो सह्राहनीय पक्ष छ। निर्वाचनलाई नै अर्जुनदृष्टि मानेर अघि बढ्नुहोस्। चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ।’
उनले अहिले चुनाव हुन सकेन भने भोलि अर्को ठूलो सङ्कट आउन सक्नेतर्फ सबै पक्ष सचेत रहनुपर्ने धारणा राखे। डा. यादवले थपे, ‘अहिले चुनाव गराउन सकिएन र यो प्रक्रिया डिरेल भयो भने प्यान्डोरा बक्स खुल्छ। अब दायाँबायाँतिर लाग्नुहुँदैन। तपाईंहरूले जे गरिरहनुभएको छ त्यो ठिक छ। प्रधानमन्त्रीज्यू पनि चुनावमा केन्द्रित गम्भीरतापूर्वक लाग्नुभएको देखिन्छ।’ उनले चुनावका संवाहक दलहरू नै भएकाले अब चुनावभन्दा दायाँबायाँ सोच्न नहुने निष्कर्ष सुनाए।
