एपीएफको ७-० को फराकिलो जित, सेमिफाइनलमा प्रवेश

झापा। झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकपको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली एपीएफ फुटबल क्लब काठमाडौँ ले फराकिलो जितसहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। मङ्गलबार भएको खेलमा एपीएफ ले पाहुना टोली सिङ्ग्लिङ स्पोर्टिङ क्लब सिक्किमलाई ७-० को विशाल गोलअन्तरले पराजित गर्‍यो।

रश्मीको ह्याट्रिक

खेलको सुरुदेखि नै बल नियन्त्रणमा राखेको एपीएफ ले आक्रामक खेल प्रदर्शन गर्‍यो। २९औँ मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लिएको एपीएफले ३८औँ मिनेटमा अनिता बस्नेतको गोलबाट दोब्बर बनायो। पहिलो हाफको अन्तिमतिर एपीएफ ले गोलको वर्षा नै गर्‍यो। ४१औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् भने इन्जुरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल थपिन्। यसरी पहिलो हाफ ५-० को फराकिलो अन्तरमा समाप्त भयो।

दोस्रो हाफमा पनि एपीएफ को आक्रमण रोकिएन। ७१औँ मिनेटमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन्। ८४औँ मिनेटमा अनिता केसीको पासमा रश्मिकुमारी घिसिङले व्यक्तिगत ह्याट्रिक पूरा गर्दै टोलीको ७-० को सहज जित सुनिश्चित गरिन्। सिक्किमका लागि सुक्रिया मगरले २१औँ मिनेटमा र ८०औँ मिनेटमा प्राप्त अवसरलाई एपीएफ की गोलरक्षक अञ्जना रानाको अगाडि सदुपयोग गर्न सकिनन्।

एपीएफ का प्रशिक्षक जिबेश पाण्डेले टोलीले योजनाअनुसार सुरुदेखि अन्त्यसम्म सन्तुलित प्रदर्शन गरेको बताए। उता, पराजित सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटियाले हारलाई सिकाइको अवसरका रूपमा लिएको बताउँदै युवा टोली आगामी खेलहरूमा सुधार गरेर फर्किने प्रतिक्रिया दिइन्।

खेलकी प्लेयर अफ द म्याच रश्मिकुमारी घिसिङ घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्। गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ।

कात्तिक २४ गते फाइनल हुने यस प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस क्लब, सङ्कटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिङ्ग्लिङ स्पोर्टिङ क्लब गरी आठवटा टिम प्रतिस्पर्धामा छन्।

बुधबार हुने तेस्रो क्वार्टर फाइनलमा सङ्कटा फुटबल क्लब काठमाडौँ र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *