कि सच्चिनु, कि सक्किनु : वाम आन्दोलनको आत्ममन्थन

वाम आन्दोलनका विभिन्न धारहरूका रङहरू अहिले बिस्तारै फिका हुँदै गएको देखिन्छ। तर यो फिकोपनलाई नकारात्मक मात्र मान्नु हुँदैन- यो त सम्भवतः एक किसिमको रासायनिक प्रतिक्रिया हो, जहाँ तीव्र रङहरू पातलिँदै जाँदा अन्ततः एउटै साझा छायामा मिसिन सक्छन्। राजनीतिक रङहरू जब आपसी प्रतिस्पर्धाबाट थाक्छन्, त्यो थकाइले नै कहिलेकाहीँ सहअस्तित्वको चाहना जन्माउँछ।

विभाजनको भित्ताभित्रको चेतना

नेपालमा वाम आन्दोलनले इतिहासमा अनेक रूप लिएको छ- क्रान्तिको जोश, सत्ताको प्रयोग, सिद्धान्तको विवाद र नेतृत्वको स्वार्थ। तर अहिलेको आवश्यकता संघर्षभन्दा बढी आत्ममन्थनको हो। विचारहरू पुराना लागे पनि, सिद्धान्तको गहिराइ अझै जिउँदो छ। आपसी सैद्धान्तिक मतभेदहरू स्वभावतः नकारात्मक आक्रोशको चरमविन्दुमा रहे पनि, निकट भविष्यमा त्यो पनि गल्दै जानेछ। अब केवल आपसी विश्वास र पुनःजागरणको पर्खाइमा भविष्यको गर्भ छ।

प्रतीकहरूको अर्थ र आत्मा

‘सूर्य, हँसिया, हतौडा, कलम र तारा’- यी पाँच तत्व केवल चिन्ह होइनन्, वाम अस्तित्वका पाँच आधार हुन्:

सूर्य: जागरण र पुनर्जन्मको द्योतक

हँसिया: श्रम र कृषक वर्गको प्रतीक

हतौडा: उत्पादन र उद्योगको सेतु

कलम: लेखन, चेतना र विचारको आत्मा

तारा: मार्गदर्शन र चेतनाको उज्यालो

यी पाँच अस्तित्व अहिले एकसाथ नदेखिए पनि, इतिहासले सिकाउँछ- समयसँगै फरक धारहरू बिस्तारै एकताको तानाबानामा मिसिन्छन्। हँसिया-हतौडा र कलम आजबाट एउटै ध्रुवमा उभिन थालेका छन् भने, शायद त्यो नयाँ वाम युगको संकेत हो। यद्यपि, उस्तै व्यक्तित्व रहँदा ‘गधालाई धोएर गाई बनाउने’ प्रयास सफल हुँदैन, तर भोलिको सम्भावनाको दृष्टिले अहिलेको अवस्था शुभ सङ्केत अवश्य हो।

समाजशास्त्रीय दृष्टिकोण

अझै समय लाग्ला, तर विचारहरू बिस्तारै समायित हुँदै दुईतिरबाट एक दिशामा गइरहेका छन्। समाजशास्त्र भन्छ— जब रङहरू पातलिँदै जान्छन्, त्यो एकताको सुरुवातको संकेत हो। अब विचारको द्वन्द्व होइन, आवश्यकताको आधारमा एकता र पुनर्जीवनको युग आउँदैछ। रङहरू पातलिँदै जाँदा— चेतनाको दूरी घट्दैछ, समानताको मर्म फेरि नजिकिँदैछ।

नयाँ युगको गर्भ

भविष्यले के जन्माउँछ भन्ने कुरा पूर्वानुमान होइन- चिन्तनको विषय हो। शायद नयाँ पुस्ताले विचार र व्यवहारबीचको पुल बन्नेछ, जहाँ सिद्धान्तहरू किताबमा होइन, कर्ममा बाँच्नेछन्।

टिप्पणी: यस वहसमा म न त विरोधमा छु, न समर्थनमा। म त केवल विचारको यात्रामा साक्षी बनेर उभिएको छु- किनभने इतिहासले सधैं त्यसैलाई सम्झन्छ, जो भीडसँग होइन, चेतनासँग साथ हुन्छ।

पुनर्जागरणको आह्वान

हिजोका वर्षहरूमा मैले लेखेको थिएँ- “वामपन्थहरू कि सच्चिनु, नत्र सक्किनु।” आज त्यो वाक्य इतिहासको टिप्पणी बनेको छ, किनभने एक किसिमले हामी सकियौं- धारासायी भयौं, आत्मालोचन गर्न ढिलो गर्यौं। तर अस्तित्व अझै बाँकी छ- जनताको चेतनामा वामपन्थी विचार अझै बाँचिरहेको छ। आजको अराजकता, गलत मनसायका घुसपैठ र राजनीतिक विद्रोहका नाममा फैलिएको विभ्रम- यी सबैको मूल कारण वाम चेतनाको कमजोरी पनि हो।

अब आवश्यक छ- श्रम, उत्पादन र चेतनाको भावनात्मक एकता पुनःस्थापित होस्। “पुनर्जागरण केवल नारा होइन, नयाँ युगको गर्भाधार बनोस्।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *