आज हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरी विशेष पूजा
काठमाडौँ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई हरिबोधिनी एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।
असार शुक्ल एकादशी (हरि शयनी एकादशी) का दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज ब्युँतिने धार्मिक विश्वास छ। यही कारणले गर्दा हरि शयनीदेखि हरिबोधिनी एकादशीसम्मका चार महिनालाई चतुर्मास भनिन्छ, जसमा विवाह र ब्रतवन्धजस्ता माङ्गलिक कार्यहरू नगरिने परम्परा छ।
तुलसी र दामोदरको विवाह
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर पूजा गरिएको तुलसीको मठलाई आज गाईको गोबर र रातो माटोले पोतेर, सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदर (विष्णु) सँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ।
रात्रिमा भक्तजनहरूले “गोविन्द उठ्नुस्, तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर भगवान् विष्णुलाई जगाउँछन्।
व्रतको महत्त्व र वैज्ञानिक लाभ
आजका दिन व्रत बसेमा पाप नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ। ठूलो एकादशी पनि भनिने आजको व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ। किसानले उखुको बोट मठमा गाड्ने र अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु, र वनतरुल उसिनेर फलाहार गर्ने चलन छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ। तुलसीको सुगन्धले दश दिशा पवित्र हुनुका साथै तुलसीको पात रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ। यसबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ।
आज देशभरका नारायण मन्दिरहरूमा विशेष पूजा र मेला लाग्ने गर्दछ। काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, विशङ्खुनारायण, शेष नारायण र इचँगुनारायण) स्थानमा विशेष मेला लाग्दछ। यहाँ जान नसक्ने भक्तजनहरूले काठमाडौँको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थान को दर्शन गर्दा चार नारायणको दर्शन गरे बराबरको फल पाइने धार्मिक विश्वास छ।
