ह्यालोविन : पश्चिमको ‘गाईजात्रा’ पर्व

हरेक वर्ष अक्टोबर ३१ मा मनाइने ह्यालोविन रोचक र कल्पनाशील पर्वहरूमध्ये एक हो। करिब दुई हजार वर्षअघि सुरु भएको यो पुरानो परम्परा अहिले विश्वभर लोकप्रिय सांस्कृतिक उत्सव बनेको छ।

ह्यालोविनको इतिहास पुरानो सेल्टिक समुदायसँग जोडिएको छ। फरक परिवेश र पृष्टभूमि भए पनि यो पर्वका कतिपय पक्षहरुका कारण नेपालमा मनाइने ‘गाईजात्रा’ कै झल्को पनि मिल्छ।

सेल्टिकहरूले बाली काट्ने मौसमको अन्त्य र जाडोको सुरुवातलाई ‘साम्हेन’ नामक पर्वका रूपमा मनाउँथे। उनीहरू अक्टोबर ३१ को रातमा जीवित र मृत आत्माबीचको सीमा कमजोर हुन्छ, जसले आत्माहरूलाई पृथ्वीमा फर्किन अनुमति दिन्छ भन्ने विश्वास गर्थे।

खराब आत्माहरूलाई टाढा राख्न मानिसहरूले ठूलो आगो बाल्ने र डरलाग्दा मुखौटा वा जनावरका छाला लगाउने गर्थे। पछि ख्रीष्ट धर्म युरोपमा फैलिएपछि, चर्चले यस परम्परालाई ‘सन्तहरूको दिवस’ सँग जोड्यो।

यसको अघिल्लो रातलाई ‘अल ह्याल्लेज इभ’ भनियो, जुन पछि छोट्याएर ‘ह्यालोविन’ बन्यो। यसरी यो सेल्टिक र ख्रीष्टीय परम्पराको मिश्रणबाट आधुनिक ह्यालोविनको रूपमा विकसित भयो।

आजको ह्यालोविन डर र भूतको पर्वभन्दा बढी मनोरञ्जन, सृजनशीलता र सामाजिक सम्पर्कको उत्सव बनेको छ। यो अमेरिका, क्यानडा, बेलायत लगायत धेरै देशहरूमा निकै लोकप्रिय छ।

‘ट्रिक–ओर–ट्रिट’ बच्चाहरू विभिन्न पोशाक (जादूगर, भूत, सुपरहिरो आदि) लगाएर घरघर घुम्छन् र ‘ट्रिक-ओर-ट्रिट’ भन्दै मिठाई सङ्कलन गर्छन्।

सडकहरू र घरहरू फर्सी, चमेरा, कंकाल र जाल जस्ता सजावटले सजाइएका हुन्छन्। ‘ज्याक-ओ-ल्यान्टर्न’ ह्यालोविनको सबैभन्दा लोकप्रिय प्रतीक रातो ठूलो फर्सीमा डरलाग्दो वा मुस्कुराउने अनुहार बनाएर भित्र बत्ती बालिएको ज्याक-ओ-ल्यान्टर्न हो, जसले उज्यालो र सुरक्षाको प्रतीक जनाउँछ।

यस अवसरमा विद्यालयहरूमा चित्रकला, पोशाक प्रदर्शन, कथा लेखन र मिठाई बाँड्ने कार्यक्रम हुन्छन्। वयस्कहरूले पनि पार्टीहरू, डरलाग्दा चलचित्र हेरेर रमाइलो गर्छन्।

ह्यालोविन केवल डर र भूतको रात होइन। यसले जीवन र मृत्यु, उज्यालो र अन्धकार बीचको सन्तुलनलाई प्रतीक गर्छ। यसले हामीलाई अज्ञात कुरालाई सामना गर्न र हाँसेर बुझ्न सिकाउँछ। यो पर्व सृजनशीलता र आत्म-अभिव्यक्ति को प्रतीक पनि हो, जसले सबै उमेरका मानिसहरूलाई एकसाथ ल्याएर समुदायमा खुशी र सहकार्यको भावना जगाउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *